
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने ३६ वर्षीय रमेश कुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ४१ वर्षीय जै बहादुर वली र मकवानपुर थाहा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३८ वर्षीय रविन कार्की रहेका छन् ।
पक्राउ मध्ये रमेशले सिंगापुर पठाइदिछु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, जै बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र रविनले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका–९ बाट र जै बहादुरलाई काठमाडौं महानगरपालिका–३१ बाट बिहीबार तथा रविनलाई काठमाडौं महानगरपालिका–२६ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये रमेश र जै बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
यसैगरी ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर थाहा नगरपालिका–८ घर भई ललितपुर, ललितपुर महानगरपालिका– २ सानेपा बस्ने ३५ वर्षीय चित्र बहादुर घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरबाट गत मंसिर १३ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर सानेपाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।
वि.सं.२०८१ माघ २५ शुक्रवार १५:३५ मा प्रकाशित