back
CTIZAN AD

युरोप निर्यात हुन थाले पातका बटुका

वि.सं.२०८१ माघ २९ मंगलवार

741 

shares

चन्द्रकला भण्डारी/झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा निर्यात भइरहेको जनाएको छ ।

प्रालिका प्रबन्ध निर्देशक कोविदसिंह बानियाँले सुपारीको पातबाट बनेका सामान वातावरणमैत्री र रसायनमुक्त हुने भएकाले स्वदेशी सुपरमार्केटदेखि विदेशका पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा लोकप्रिय बनेको बताए । आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड ६० लाखको सुपारीका थाल बटुकालगायतका सामान बिक्री भएको जनाउँदै उहाँले ६० प्रतिशत अर्थात् रु एक करोडका सामग्री युरोप र अमेरिका निर्यात भएको बताए ।

सुपारीको राजधानी मानिएको झापामा २०७४ सालमा नयाँ सोचका साथ अघि बढ्न चाहने युवा व्यवसायीको एउटा समूहले मेचीनगर–९ मा सुपारीको पातबाट घरायसी सामान उत्पादन गर्ने उद्योग ‘लिफ प्लस प्रालि’ स्थापना गरेको थियो । मकवानपुरका कोविदसिंह बानियाँ, दाङका स्वाभिमान आचार्य, झापाका हरि दाहालको संयुक्त लगानीमा रु एक करोड ५० लाख लगानीमा स्थापना भएको उद्योगमा हालसम्म रु चार करोड लगानी भइसकेको छ ।

दुई वर्षअघि आगलागी भएर ठूलो क्षति भएपछि उद्योगलाई मेचीनगर–९ बाट १३ मा स्थानान्तरण गरिएको छ । आगलागीबाट पुरानो मेसिन काम नलाग्ने बनेपछि भारतबाट नयाँ मेसिन ल्याइएको बानियाँले बताउनुभयो । “सालको पातबाट जस्तै सुपारीको पातबाट दुना टपरी बनाउन सकिन्छ भन्ने लागेर यसको व्यावसायिक उत्पादन गर्ने योजना बनायौँ,” उद्योगका संस्थापकमध्येका बानियाँले भने, “सुरुमा स्थानीय बजारमा यसलाई चिनाउन केही समय लाग्यो । पछि विदेशमा बजार प्रवद्र्धन गर्दै युरोपर अमेरिकाको बजारसम्म यसलाई पु¥याउन सफल भएका छौँ ।”

माइक्रोवेभमा तताउन मिल्ने, रेफ्रिजेरेटरमा चिस्याउन मिल्ने, वातावरणमैत्री, नचुहिने र प्राकृतिक रुपमै विसर्जन गर्न सकिने विशेषताका कारण विदेशी बजारमा नेपालमा निर्मित सुपारीको थाल, बटुकालगायतका सामान छिट्टै लोकप्रिय बनेको उनको भनाइ छ । सुरिलो बोटको टुप्पामा झुप्प भएर सुपारीका पात हुर्किने गर्छन् । सुपारी खेतीको भुइँमा किसानहरुले अन्य बाली लगाउने गर्छन् । ठूलो आकारका पात खेतीमा झरेर बाली नोक्सान नहोस् भनेर विगतमा किसानहरु यसलाई खेताला लगाएर बारीबाट हटाउने गर्थे । तर अहिले बोटबाट आफैँ झरेका पात बिक्री भएपछि किसानहरुले अतिरिक्त आम्दानी पाउन थालेका छन् । एउटा पात रु चारका दरले बिक्री हुने गरेको छ ।

झापामा दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा ३५ लाख वटा सुपारीका बोट रहेको छ । एउटा बोटबाट बर्सेनि पाँचदेखि आठवटा पात छिप्पिएर खस्ने गर्छन् । यस हिसाबबाट बर्सेनि दुई करोड ५० लाखभन्दा बढी पात खेर गइरहेको छ । उद्योगहरुले त्यही खेर जान लागेको पातलाई उपयोग गरेर सामान उत्पादन गर्दछन् । यसबाट सुपारी किसानले फलबाहेक पातको मूल्य पाउने अवस्था सिर्जना भएको छ ।

स्वदेशभित्र मठमन्दिरमा हुने पूजा, विवाह, व्रतबन्ध र सार्वजनिक समारोहको भोजभतेरमा सुपारीको पातबाट बनेका सामान प्रयोग हुने गरेको छ । भाटभटेनी, सेल्सबेरी, होटल सोल्टीलगायतका राजधानीका ठूला होटल र रेस्टुरेन्टमा यी सामग्री प्रयोग हुँदै आएको उद्योगका सञ्चालक बानियाँ बताउँछन् ।

झापाको बाहुनडाँगी, शान्तिनगर र बुधबारेबाट सुपारीका पात सङ्कलन हुँदै आएको उद्योगले जनाएको छ । ती क्षेत्रका अरू उद्योगबाट उत्पादित सामान उद्योगले किनिदिने गरेको छ । लिफ प्लस प्रालिमा १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मेसिन सञ्चालन र पात सङ्कलनमा रोजगारी पाउने अधिकांश महिला श्रमिक छन् । उद्योगमा जडान गरिएको सातवटा मेसिनले दैनिक १२ हजार वटा थाल, बटुकालगायतका सामान उत्पादन गर्दै आएको छ ।

अर्जुनधारा नगरपालिका–२ मा इनर्जी क्रप्स नाम उद्योगले पनि सुपारीको पातबाट दुना टपरीलगायतका सामान उत्पादन गर्दै आएको छ । सञ्चालक दीपक ढुङ्गानाले रु एक करोडमा स्थापना गरिएको उद्योगमा १० जनाको संयुक्त लगानी रहेको बताए ।

सञ्चालकहरु आफैँ सुपारीको पात खोज्न किसानका बगानमा पुग्ने गर्छन् भने उत्पादित सामान बिक्रीका लागि आफैँ खटिने गर्छन् । सुपारीको सुकेका पातलाई सङ्कलन गरेर सजिलैसँग उद्योगको कच्चापदार्थ बनाउने गरिएको छ । सुरुमा पातलाई सरसफाइ गरिन्छ र सफा पानीमा धुने काम हुन्छ । धोइसकेपछि चिसोपना हटाउन घाममा सुकाइन्छ । त्यसपछि मात्र कम्प्रेसर मेसिनमा राखेर दुना टपरीको आकार दिइन्छ । प्लास्टिकबाट बनेका थाल बटुकाको विकल्पका रुपमा सुपारीका पातबाट बनेका थाल, बटुकाहरु प्रयोग गर्न सकिने उल्लेख गर्दै उद्योगी ढुङ्गानाले ठूलो आकारको सुपारीको एउटा पातबाट पाँच वटासम्म थाल बनाउन सकिने बताए ।

मेचीनगर–४ बाहुनडाँगीका राजेन्द्र मिश्र सुपारीखेतीबाट धानखेतीको तुलनामा दशौँ गुणा बढी आम्दानी हुने बताउँछन् । अढाई बिगाहामा सुपारीखेती गरेको उनले सुपारीको फलबाट वार्षिक रु चार लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो । सुपारीको बिरुवा रोपेको ६ वर्षपछि दाना फल्न थाल्छ । तर फल फल्नुभन्दा अघि नै यसको बोटले पातमार्फत आम्दानी दिन सुरु गर्छ । सुपारी बगानभित्र तोरी, फिलुङ्गे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवा आदिको खेती सँगसँगै गर्न सकिन्छ ।

मेचीनगर–६ मा याम निरौलाले मल्टी प्रोडक्सन कम्पनी प्रालि स्थापना गरेर बाहुनडाँगी क्षेत्रका सुपारीको पात सङ्कलन गरेर थाल, बटुका, चम्चा आदि सामान उत्पादन गर्दै आएका छन् । स्थानीय क्षेत्रमै आफ्ना सामान बिक्री हुने गरेको जनाउँदै उनले वातावरणीय स्वच्छताका लागि प्लास्टिकका थाल बटुका निषेध गरेर सुपारीका पातको सामान प्रयोग बढाउन स्थानीय तहका सरकारहरुको भूमिका हुनुपर्ने बताए । यही माघमा विर्तामोडमा सञ्चालित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विक्री कक्ष राख्दा मुलुक बाहिरका अवलोकनकर्ताले समेत सुपारीका पातको सामानबारे निकै चासो राखेको उनले जानकारी दिए । “बिक्री भएन भने घाटा व्यहोर्नुपर्ने हुन्छ भनेर उद्योगहरुले थोरै मात्रामा सामान उत्पादन गर्छन्,” उनी भन्छन्, “बजार प्रवद्र्धनमा सरकारले सघाइदिने हो भने झापामा सुपारीको पातबाट चल्ने उद्योगबाटै हजारौँले रोजगारी र जीविकोपार्जन गर्नसक्ने सम्भावना छ ।”

मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा रहेकाले उद्योगले किसानको घरमा पुगेर सुपारीको पात किनेर लैजाने गरेको सुपारी जोनका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीले बताए । जङ्गली हात्तीको उपद्रो बढी भएको बाहुनडाँगी क्षेत्रका किसानले हात्तीले नखाने बालीका रूपमा सुपारीखेती गर्दै आएको उनी बताउँछन् । “सुपारीखेती र यसको पातबाट बनेका सामानको बजारीकणमा सरकारले सघाउनुपर्छ,” तिवारी भन्छन्, “तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्थानीय उत्पादनले बजार नपाइरहेको अवस्था छ । सुपारीको खेती गर्ने किसान, दाना प्रशोधन गर्ने र पातबाट सामान बनाउने उद्योगीहरुलाई प्रोत्साहित गर्नसके मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निश्चित छ ।”

सुपारीको पातबाट बनेका सामानको विश्व बजारमा भारतीयले ९० प्रतिशत प्रभुत्व जमाएको र सुपारीको पातबाट बनेका सामान निर्यात हुँदा भारतको सरकारले त्यहाँका उद्योगीलाई नौ प्रतिशत प्रोत्साहन अनुदान प्रदान गर्दै आएको लिफ प्लस प्रालिका सञ्चालक बानियाँले बताए ।

सुपारीको पातबाट बनेका सामान विदेश निर्यात गर्ने मुलुककै पहिलो उद्योग भए तापनि राज्यबाट प्रोत्साहन नपाएको उनको गुनासो छ । उत्पादित सामान मानव उपभोगयोग्य रहेको भनेर भारतीय प्रयोगशालामा प्रमाणीकरण गर्नुपर्ने बाध्यता रहेको बानियाँले बताए । “स्वदेश र विदेशको बजारमा माग भए जति आपूर्ति गर्न सकिरहेका छैनौँ,” उनले भने, “बजारको कुनै चिन्ता छैन । बरु, वातावरणमैत्री सामान उत्पादन गरेर विदेश निर्यात गरिरहँदा राज्यबाट कुनै प्रोत्साहन पाएका छैनौँ भन्नु पर्दा दुःख लाग्छ ।”रासस

 

वि.सं.२०८१ माघ २९ मंगलवार १३:०७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...