back
CTIZAN AD

ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन सुरु

वि.सं.२०८१ फागुन ८ बिहीवार

768 

shares

अमरगढी (डडेल्धुरा) । यहाँको अजयमेरु गाउँपालिकास्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोटको उत्खनन सुरु गरिएको छ । पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन सुरु गरिएको हो ।

उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको थियो । सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ ।

अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीले  बताए। पहिलो पटक उत्खनन गरी अध्ययन, अनुसन्धान सुरु गरिएको यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र रहेको उनले बताए ।

अधिकृत ज्ञवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको ‘नम्बरिङ’ गर्ने काम भइरहेको छ । उनले भने, “अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदी पूर्वका देवल भन्दा फरक छ ।”

उत्खनन्मा प्राप्त विवरण अनुसार बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन । अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयासस्वरूप पुरातत्व विभागको अर्को टोलीले थप अध्ययन गर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अजयमेरुकोट जस्ता ऐतिहासिक तथा पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धनमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताइन् । उनले प्रदेश सरकार यस्ता कार्यक्रममा आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।

अजयमेरु कोट संरक्षणको महत्व अझ बढ्दै गएकाले स्थानीय तहले सङ्घ र प्रदेश सरकारबाट थप बजेट तथा आवश्यक सहयोग माग गरेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताए ।

अजयमेरुकोटको स्थापना १३औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयदेव पालले सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोट स्थापना गरेको किम्बदन्ती छ ।

एकथरिले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको पनि भन्ने गरेका छन् । यद्यपि प्रमाणहरुले यो कोट कत्युरी वंशजका पाल राजाले निर्माण गरेको पुष्टि भएका छन् । रैका राजवंशका नागी मल्लले विसं १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटका रूपमा चिनिएको बताइन्छ । यस ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र विसं १४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।

अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउलाको भग्नावशेष मात्र छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।

अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई गाड (खोला)ले घेरेको छ । तल गाड देखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदार बस्ने हवेली भग्नावशेषका रूपमा देखिन्छन् ।

दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार सात तलाको थियो भनिन्छ । सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।

यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्छन् । दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला) भएको स्थान सम्म रानीले पानी भर्न र नुहाउन जाने जमिन भित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोट देखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन सुरुङ छन् ।

कोट स्थलदेखि गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् । गाडको केहीमाथि दुईवटा देवल छन् यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउला छन् । यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ ।रासस

वि.सं.२०८१ फागुन ८ बिहीवार १५:३९ मा प्रकाशित

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...