
१. आहार तथा पोषण
कुनै पनि खाद्यपदार्थलाई अन्नमार्गबाट ग्रहण गरेपछि त्यसले जीवनीशक्ति उत्पन्न गर्दछ र शरीरका सप्त धातुहरुको पोषण, रक्षा तथा क्षतिपूर्ति गर्दछ । खाद्यपदार्थले जीवनको प्रक्रियालाई संयमित गर्दछन् र यी शरीरका महत्वपूर्ण अंशहरुको उत्पत्तिमा सहायक हुन्छन् । भोजनको रुपमा ग्रहण गरिने त्यस्ता पदार्थलाई आहार भनिन्छ । आहार स्वस्थतथा रोगी दुबैका लागि महत्वपूर्ण हुन्छ । आहारबाट बल, वर्ण तथा ओजको प्राप्ति हुन्छ । आहारबारे अध्ययन गरिने विज्ञानलाई आज ‘डाइटिक्स’ भनिन्छ । मानव शरीरलाई प्रतिदिन सामान्यतः २००० देखि २६०० किलो क्यालोरी उर्जा आबश्यक पर्दछ । मानव शरीरका लागि आबश्यक पर्ने पोषणको पूर्ण आपूर्तिको उद्देश्यले तयार गरिएका भोजनहरुको समूहलाई सन्तुलित आहार भनिन्छ । सन्तुलित आहारमा प्रोटिन १५ प्रतिशत, बोसो ३५ प्रतिशत र कार्बोहाइड्रेट ५० प्रतिशत रहेको हुन्छ । प्रत्येक व्यक्तिका लागि देश, काल, हावापानी, उमेर आदिका आधारमा फरक फरक आहार विधि तथा मात्रा आदिको निर्णय गर्नुपर्दछ । भोजनले शारीरिक कार्य, (शरीर निर्माण कार्य, उर्जादायक कार्य, सुरक्षादायक कार्य, भावनात्मक कार्य आदि), उपचारात्मक कार्य, व्यक्तित्वदायक कार्य, सामाजिक कार्य, सास्कृतिक सम्बन्धदायी कार्य आदि अनेक कार्य गर्दछ । आहार पोषकत्व हुन्छ । पोषकत्वले शरीरको निर्माण, सुरक्षा एवं मर्मत–सम्भारका लागि कार्य गर्दछ । त्यही पोषकत्वको अध्ययन हो पोषण विज्ञान ।
२. गुण विरुद्ध भोजन
हाम्रो दैनिक जीवनमा हामीले दुई वादुईभन्दा बढी भोजनहरु मिसाएर सेवन गर्दछौं । यसरी मिसाउँदा भोजनमा बिशेष गुण उत्पन्न हुन्छ । केही मिसावट शरीरका लागि हितकर र केही अहितकर हुन्छ । अहितकर मिसावटलाई विरुद्ध भोजन भनिन्छ । विरुद्ध भोजन तीन प्रकारको हुन्छ – मान विरुद्ध, गुण विरुद्ध र कर्म विरुद्ध । जस्तै – मह र घीउ समान भागमा संगैं प्रयोग गर्दा अहितकर हुन्छ, यो मानव विरुद्ध भोजन हो । माछासंग दुध प्रयोग गर्दा अहितकर हुन्छ, यो गुण विरुद्ध भोजन हो । धातकी र दन्तीको प्रयोगसंगै गर्दा त्यो कर्मविरुद्ध हुन्छ ।
३. पोषकत्वको वर्गीकरण
तालिका १ः पोषकत्वको वर्गीकरण
४. भिटामिन
भिटामिन शरीरमा नबन्ने पोषकत्व हो । भिटको अर्थ हुन्छ जीवनका लागि आवश्यक र एमिन भनेको एउटा जटिल जैविक कार्बनिक यौगिक हो । भिटामिनले कार्बोहाइडे«ट, प्रोटिन र चिल्लोको पाचन गराउँदछ । यसले शरीरमा हार्मोन र कोइन्जाइम जस्तै कार्य गर्दछ । भिटामिन दुई प्रकारका हुन्छन् – पानीमा घुलन शील र चिल्लोमा घुलन शील । पहिलो वर्गमा भिटामिन वि. र सि. तथा दोस्रो वर्गमा भिटामिन ए, डि, ई, र के पर्दछन् । भिटामिन हाम्रो शरीरका लागि प्रतिदिन एक ग्राम भन्दा कम मात्रामा आवश्यक पर्दछ ।
तालिका २ः भिटामिनको वर्गीकरण
५. निष्कर्ष
आहार तथा पोषण, विरुद्ध भोजन, पोषकत्व र भिटामिन मानव शरीरका लागि नभई नहुने तत्व हुन् । आहार भन्ने कुरा शरीरको लागि अति आवश्यक उर्जा, पोषकत्व र जीवनी शक्ति उत्पन्न गर्ने महत्वपूर्ण वस्तु हो । यी चीजको संन्तुलन मिलाउन सकिएन भने शरीरमा रोग उत्पन्न हुन्छ । शरीर स्वस्थ रहनको लागि संतुलित आहार अति आवश्यक हुन्छ । शरीर स्वस्थ हुनको लागि प्राकृतिक आहार लिनु पर्दछ । वर्तमान आधुनिक युगमा पत्रु खानाको धेरै उपयोग हुन थालेकोले मानिसहरु विभिन्न रोगको सिकार हुनु परेको छ । कृषिबालीमा अत्याधिक विषादीको प्रयोगले नेपालमा नसर्ने रोग व्यापक रुपमा फैलिएको पाइन्छ । खाद्य स्वच्छता कायम गर्नका लागि उपयुक्त नीति, ऐन, कार्यविधि, जनमूखी योजना तर्जुमा, प्रभावकारी क्रियान्वयन, सशक्त अनुगमन तथा मूल्याङ्कनको परिपाटी व्यवस्थित हुन जरुरी देखिन्छ । नेपाल सरकारको क्रियान्वयन पक्ष कमजोर हुने भएकाले नेपाली जनताको स्वास्थ्यमा गंभीर खेलवाड भइरहेको अवस्था छ । खाद्य स्वच्छताको लागि जन चेतना जगाउने कार्य धेरै महत्वपूर्ण छ । यस क्षेत्रमा नीति निर्माता, राजनीतिक नेताहरु, कार्यकर्ता, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा आदिको भूमिका धेरै महत्वपूर्ण छ । यसको साथै जलवायु परिवर्तनको कारणले खाद्य उत्पादन, पशुपालन र पानीको मुहान संरक्षण, आपूर्ति श्रृङ्खलामा पनि गम्भीर समस्या खडा भएको देखिन्छ ।
वि.सं.२०८१ फागुन ८ बिहीवार १५:३७ मा प्रकाशित