back
CTIZAN AD

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

वि.सं.२०८२ वैशाख २६ शुक्रवार

1.9K 

shares

काठमाडौँ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । एक समय सम्पर्कको माध्यममात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ । दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन् । ‘झिल्को’ले यही ज्वलन्त समस्यालाई उजागर गरेको छ ।

निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्र ‘झिल्को’मार्फत उजागर गर्नुभएको छ । आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडियो’हरू हेर्ने बानी बालबालिकाका लागि सामान्यजस्तै भइसकेको छ ।

चलचित्रमा यिनै विषयवस्तु र त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलजस्ता कलाकारले सशक्त अभिनय गर्नुभएको छ, जसले कथालाई जीवन्त बनाएको छ ।

अभिभावकहरूले पनि बालबालिकाको मोबाइल प्रयोगलाई सामान्य ठानेर बेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले चित्रण गरेको छ । चलचित्रमा एक पत्रकारको सुखी र खुसी परिवारको कथा छ, जहाँ उहाँको श्रीमती र छोरी छिन् । तर, यही सुखी परिवारमा डिजिटल कुलतको सानो ‘झिल्को’ कसरी सल्किन्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने कुरालाई चलचित्रमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । यसले समयमै सचेत नभए परिवारमा आउन सक्ने सम्भावित खतरालाई उजागर गर्छ ।

प्रविधिमैत्री यो समयमा डिजिटल कुलतबाट आफू जोगिनु र आफ्ना बालबालिकालाई जोगाउनु एउटा ठूलो चुनौती बनेको छ । सुरूमा सामान्य लाग्ने यो लतले भविष्यमा परिवारमात्र नभई सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले स्पष्ट रूपमा देखाएको छ । टेलिशृङ्खलाबाट चलचित्रमा प्रवेश गर्नुभएका अभिनेता पोखरेलले यस चलचित्रमा काम गर्दा आफूले डिजिटल कुलतजस्तो महत्त्वपूर्ण विषयमा नयाँ ज्ञान प्राप्त गरेको बताए ।

“अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ । यो चलचित्रमा अभियन गर्नु अगाडि र अहिलेको सोचमा निकै परिवर्तन आएको छ । यसबाट हामीभन्दा नयाँ पुस्ता र विशेषगरी बालबालिकालाई बचाउनु जरूरी छ । म आफैँले पनि पछिल्लो समय दैनिकीमा परिवर्तन ल्याएको छु”, उनले भने ।

अभिनयको सुरू समयमा अभिनेता पोखरेलले ‘जीवनचक्र’ जस्तो स्वास्थ्य विषयमा आधारित टेलिशृङ्खलामा काम गर्नुभएको थियो । तर, डिजिटल कुलतको विषयमा उनले समेत बुझेका रहने छन् । टेलिशृङ्खलासँगै केही चलचित्रमा काम गरिसक्नुभएका अभिनेता पोखरेललाई निर्देशक यादव भट्टराईसँग भेट्ने प्रस्ताव आयो । अभिनेता पोखरेल भने सानो पर्दा अर्थात् टेलिशृङ्खलामा काम नगर्ने सोचका साथ भेट्ने उद्देश्यले मात्र पुगे ।

“मलाई टेलिशृङ्खला वा आफू देखिनमात्र काम गर्नु थिएन । किनकि मैले धेरै काम गरिसकेको थिएँ । तर, निर्देशक भट्टराईले डिजिटल कुलतको विषयमा चर्चा गर्नुभएपछि म नै उक्त विषयमा सोच्न बाध्य भएँ । किनकि यस्तो विषयलाई अनुसन्धान गरेर चलचित्रमा ल्याइएको छैन”, अभिनेता पोखरेलले भने ।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । मोबाइल चलाउनु दैनिकीको हिस्सा बनिसकेको छ । अहिले सामाजिक सञ्जालमा ‘झिल्को’ बनेर फैलिने खबरले न्यायालयभन्दा अगाडि फैसला सुनाइसक्छ । एउटा सानो श्रव्यदृश्य वा कसैले केही लेखेकै भरमा डिजिटल माध्यमले मानिसलाई गर्ने असरलाई पनि चलचित्रले समेटेको छ । यी सबको विषयमा जानकारी पाएपछि अभिनेता पोखरेलले आफैँ सामाजिक सञ्जालमा उपस्थिति कम गरे । आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कम पहुँच दिन थाले । यसले विस्तारै आएको परिवर्तनलाई उनले महसुस गरेका छन् ।

“अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजे ‘वाइफाइ राउटर’ बन्द हुन्छ । त्यो बिहानमात्र खुल्छ । मैले सुरूमा बच्चालाई मनाउन कठिनाइको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या र शैलीमा परिवर्तन आउन थालेको छ । यो चलचित्रको उद्देश्य ‘भर्चुअल संसार’ बाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो । यसका लागि बालबालिकामात्र दोषी छैनन् किनकि उनीहरूलाई मोबाइलको पहुँच दिलाउने हामी अभिभावक नै हौँ”, अभिनेता पोखरेलले भने ।

कोभिड–१९ का कारण भएको बन्दबन्दीमा बालबालिकाले प्रविधिको सहायताले कक्षा लिए । ‘अनलाइन क्लास’का कारण धेरै बालबालिकासम्म मोबाइल पुग्यो । तर, त्यसबाट फिर्ता ल्याउन वा मोबाइलको लत छुटाउन अभिभावकले ध्यान दिएनन् । जसकारण त्यो विस्तारै लतमा परिणत भएको बुझाई अभिनेता पोखरेलले सुनाए ।

“हामीले पनि घरमा हुँदा वा बालबालिकासँग हुँदा ‘भर्चुअल वल्र्ड’ त्यागेर उनीहरूसँग रमाउन सक्नुपर्छ । हामी मोबाइल चलाउने अनि बालबालिकालाई हुँदैन भन्ने भो भने त्यसले समाधान दिँदैन, त्यसैले हामी अभिभावक पनि सच्चिनु जरूरी छ । सुरूआत हामीबाट हुनुपर्छ अनि त्यसको नतिजा राम्रो आउँछ”, उनले भने ।

मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन भइरहेको छ । उक्त चलचित्रमा निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखनको काम गरेका छन् ।

डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको दर्शकको भनाइ छ । चलचित्र हेराउन केही अभिभावक बालबालिका लिएर चलचित्र भवन पुगिरहेका छन् । अर्थात् चलचित्र निर्माणको उद्देश्य केही हदसम्म पूरा हुँदैछ ।

“चलचित्र हेरिसक्नुभएकाले यसलाई सपरिवार हेर्नुपर्ने धारणा राख्दै केही आफ्नो परिवार नै लिएर चलचित्र भवनमा आउनुभएको पाएका छौँ । हाम्रो उद्देश्य नै यही हो । डिजिटल कुलतका बारेमा अभिभावकले बुझेमात्र बालबालिकालाई जोगाउन सकिन्छ । यसको विषयवस्तु विशेषगरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरूपयोग र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ । त्यसकारण यो अभिभावक र बालबालिका दुवैका लागि उपयोगी बनेको छ”, उनले भने ।

नेपाली समाजका गम्भीर समस्यालाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले यसअगाडि ‘झोला’ र ‘भोर’ चलचित्र तयार गरिसकेका छन् । नेपाली समाजमा एक समय विद्यमान अमानवीय सति प्रथालाई केन्द्रमा राखेर तयार भएको ‘झोला’ र मधेस क्षेत्रको सामाजिक यथार्थमा आधारित कथामा तयार गरिएको ‘भोर’ले निर्देशक भट्टराईलाई फरक निर्देशकका रूपमा चित्रण गरिसकेको छ ।

“डिजिटल कुलतले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको छ । मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दै ‘भर्चुअल’ दुनियाँमा हराइरहेका छन् । हामी चलचित्रकर्मीको दायित्व मनोरञ्जनसँगै समाजमा असर गरिरहेको गलत प्रवृत्तिमा प्रश्न गर्नु पनि हो । मैले आफ्नो दायित्वलाई बुझेर डिजिटल कुलतको विषय चलचित्रमा उठाएको हुँ”, निर्देशक भट्टराईले भने ।

यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखले समेत हेर्नुपर्ने दर्शकले विश्लेषण गरेका छन् । चलचित्र हेरिसकेकाले दिइरहेको प्रतिक्रियाले कलाकारिता यात्रामा ‘झिल्को’ ले आफूलाई सन्तुष्टि दिएको अभिनेता पोखरेलले बताए ।

“मैले अभिनय गर्न खोजेको चलचित्र यही हो । किनकि मैले जसरी टेलिशृङ्खलामार्फत जनचेतना फैलाउने काम गरेको थिएँ, यो चलचित्र आउँदा केही वर्षसम्म देखाउन र चर्चा गर्न सकिने बनेको छ । मैले कलाकारिता यात्रामा के गरेभन्दा ‘झिल्को’जस्तो चलचित्रमार्फत डिजिटल कुलतको विषय उठाएको थिएँ भन्न सक्छु । यो चलचित्रलाई विस्तारै हामीले विद्यालय र स्थानीय तहसम्म लाने छौँ”, अभिनेता पोखरेलले भने ।

‘झिल्को’ चलचित्रले विशेषगरी डिजिटल कुलतका कारण र त्यसले निम्त्याउने नकारात्मक असरलाई उजागर गरेको छ । यही कारणले पनि अभिभावकले आफ्ना बालबालिकालाई यो चलचित्र देखाउन चलचित्र भवनसम्म पुग्नु आवश्यक छ । के थाहा, चलचित्रमा देखाइएजस्तै डिजिटल कुलतको सानो ‘झिल्को’ कतै तपाईँको परिवारमा त पनि सल्किरहेको छैन ? यो चलचित्रले समयमै सचेत हुन र आवश्यक कदम चाल्न प्रेरित गर्छ ।

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:३६ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

वित्तीय अवस्थामा उल्लेख्य सुधार: एमएडब्लूको रेटिङ्ग LBBB-/A3 मा उक्लियो

काठमाडौं । ICRA नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...