
काठमाडौँ । अध्ययन बिदा लिएका त्रिभुवन विश्वविद्यालयका एक सय ८७ जना शिक्षक/कर्मचारी कार्यालय नफर्केको पाइएको छ ।
ती मध्ये दुई सय १३ जनाले अध्यन बिदा उपयोग गरेपनि उत्तीर्ण प्रमाणपत्र पेस नगरेको पाइएकाे हाे ।
समन्वय महाशाखा प्रमुख एवं समितिका सदस्य सचिव दिपक तिवारीले भने, ‘खोज समिति नै बनाएर नफर्केका शिक्षक कर्मचारीको खोजी भएको थियो । समितिले तयार पारेको प्रतिवेदन आज त्रिवि पदाधिकारीलाई बुझाइएको छ ।’
तिवारीले प्रतिवेदनले एक सय ८७ जना नफर्केका र दुई सय १३ जना उत्तीर्ण प्रमाणपत्र पेस नगरेका शिक्षक/कर्मचारी रहेको बताए ।
अध्ययन बिदा लिएर लामो समयदेखि विश्वविद्यालय नफर्केपछि उक्त विषयमा छानबिन गर्न त्रिविले समिति गठन गरेको थियो । त्रिवि पदाधिकारीहरूले यथाशीघ्र पुन प्रमाणीकरण गर्न र थप छानबिन गर्न सोही समितिलाई जिम्मा दिएको छ ।
यस घटना बारे बिस्तृत बुझ्न खोज्दा त्रिभुवन विश्वविद्यालयका उपकुलपति खड्क केसीको फोन उठेन । तर, उनले एसएमएस मार्फत बिदा लिएर कार्यालय नर्फकेका शिक्षक तथा कर्मचारीको बिदा उपयोग अवधीमा बुझेको तलबको १० प्रतिशत र कम्पाउण्ड ब्याजसहित पैसा बुझाउन लगाउने बताएका छन् ।
वि.सं.२०८२ जेठ ३० शुक्रवार १७:२३ मा प्रकाशित