
काठमाडौं । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली गणेशप्रसाद पोखरेल र सुमन गैरे आज नयाँ दिल्ली आइपुगेका छन् ।
इरान–इजरायल युद्धका कारण इरानमा समस्यामा परेका १६ नेपालीमध्ये यी दुईलाई इरानस्थित भारतीय दूतावासले उद्धार गरी दिल्ली ल्याएको हो । दिल्लीबाट उनीहरु बुटवलका लागि हिँडिसकेको भारतीय दूतवासले जनाएको छ ।
इरानमा रहेका १६ नेपालीमध्ये पाँच जना जेलमा छन् । बाँकी ११ जनाको उद्धारका लागि पहल भइरहेको छ । यी ११ जना भारतले उद्धार उडान सञ्चालन गरिरहेको इरानको मसाद सहरमा पुगेका थिए । तर, भारतीय नागरिकसँगै त्यहाँ पुगेका ११ मध्ये ९ जनासँग इरानी कानुनअनुसार आवश्यक कागजात नभएका कारण उडान अनुमति प्राप्त नभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
बाँकी ९ जना मसादको एक होटलमा भारतीय नागरिकसँगै सुरक्षित छन् र उनीहरूलाई भारतीय नागरिकसँगै उद्धार गरिने इरानस्थित भारतीय दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा समस्यामा परेका नेपालीलाई भारतीय नागरिकको उद्धारसँगै ल्याउन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।
वि.सं.२०८२ असार १० मंगलवार २०:५४ मा प्रकाशित