
कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन करोड २५ लाख एक हजार ५५ बराबरको क्षति पुगेको छ ।
नगरपालिकाको मुख्य प्रशासनिक भवन जोगाउन सफल भएको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिनुभयो । नगरपालिकाको जिन्सी शाखाका प्रमुख कृष्ण कार्कीका अनुसार सबैभन्दा बढी क्षति वडा नं ८ मा देखिएको छ । जहाँ मात्रै रु ५५ लाख ९६ हजार ८७१ बराबरको सम्पत्ति, कागजपत्र, फर्निचर, कम्प्युटर, अभिलेखलगायत नष्ट भएको छ ।
यसैगरी, वडा नं १ मा रु ४६ लाख ७४ हजार ९५९, वडा नं ७ मा रु ४५ लाख तीन हजार ७२, वडा नं ३ मा रु २५ लाख १० हजार ४९४ र वडा नं ५ मा रु २३ लाख १० हजार सात सय ७१ बराबरको क्षति भएको छ ।
अन्य वडामा पनि लाखौँको क्षति भएको छ । वडा नं ६ मा रु १८ लाख ८७ हजार ८१४, वडा नं १२ मा रु १५ लाख ५१ हजार ४९६, वडा नं २ मा रु १५ लाख ७३ हजार १४९, वडा नं ९ मा रु १५ लाख २२ हजार ५९१, वडा नं ४ मा रु १५ लाख १२ हजार ७८, वडा नं ११ मा रु १३ लाख ४३ हजार ५८९ र वडा नं १० मा रु सात लाख ४७ हजार ६८२ बराबरको क्षति पुगेको नगरपालिकाले सङ्कलन गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ ।
कार्यालय भवन, फर्निचर, कम्प्युटर तथा अभिलेख तोडफोड र आगजनीबाट ध्वस्त भएपछि तत्काल वडाबाट सेवा प्रवाह पूर्णरूपमा अवरुद्ध भएको छ । हाल अस्थायी रूपमा मुख्य कार्यालयमार्फत वडास्तरका सेवा दिन सुरु गरिएको भए पनि स्रोत साधनको अभावले सेवाग्राहीलाई समयमा सेवा पु¥याउन कठिनाइ भइरहेको जनप्रतिनिधिहरुको भनाई रहेको छ ।
आन्दोलनका कारण कार्यालय मात्र नभई स्थानीयवासी पनि प्रत्यक्ष प्रभावित भएका छन् । पहिले वडास्तरमै सेवा पाउने नागरिक अब नगरपालिकाको मुख्य कार्यालय धाउन बाध्य छन् । नगरपालिकाले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग बजेट व्यवस्थापन गरिदिनका लागि आग्रह गरेको छ ।
“मुख्य कार्यालयमा अभिलेख जोगाउन सकिएको भए पनि वडास्तरमा ठूलो क्षति पुगेको छ”, शाखा प्रमुख कार्कीले भने, “जिल्लामै आन्दोलनका नाममा सबैभन्दा ठूलो क्षति यस नगरपालिकाले व्यहोरेको छ ।” शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक संरचना र सेवाग्राहीको सुविधा पुनःस्थापित गर्न सरकारले चाँडै पहल गर्नुपर्ने स्थानीयवासीको माग गरेका छन् ।
वि.सं.२०८२ असोज ८ बुधवार १५:२७ मा प्रकाशित