नेपालको माओवादी आन्दोलन नेपाली जनताले लामो समयदेखि भोग्दै आएको शोषण, उत्पीडन, वर्गीय विभेद, जातीय विभेद र लैंगिक असमानताको विरुद्धमा उठेको एउटा ऐतिहासिक र साहसी प्रयास थियो । यो आन्दोलनले हजारौं युवायुवतीहरूलाई प्रेरित र्गयो, जसले आफ्नो जीवन, भविष्य र परिवारको प्रवाह नगरी सामाजिक परिवर्तनका लागि बन्दुक उठाए । युद्धकालीन समयमा हामी माओवादीहरूले उठाएका मुद्दाहरू समानता, न्याय, सामाजिक समावेशीकरण, समतामूलक समाज निर्माण, भ्रष्टाचारको अन्त्य, दलाल पुँजीवादको खारेजी र शिक्षा, स्वास्थ्य तथा रोजगारीको हक जस्ता सवालहरूले गाउँगाउँका जनतालाई चेतनशील बनायो ।
जनयुद्धको बलिदानीकै कारण नेपालमा राजतन्त्रको अन्त्य भयो, गणतन्त्र आयो, धर्मनिरपेक्षता र संघीयता स्थापना भयो। तर, यिनै परिवर्तनहरूलाई संस्थागत गर्ने जिम्मा पाएका मध्ये केहि माओवादी नेताहरूले अपेक्षाअनुसारको काम गर्न सकेनन । आन्दोलनले उठाएका लक्ष्य र आदर्शहरू व्यवहारमा लागू गर्नेभन्दा केहि नेताहरु सत्ताको लिप्सा र भोगविलासमा केन्द्रित हुँदै गए । युद्धमा लड्ने, अंगभंग हुने, वा शहादत प्राप्त गर्ने हजारौं योद्धा, तिनका परिवारहरू र गाउँका जनतालाई बिर्सिँदै नेताहरू ठूला घर, गाडी, विदेश पढाइ, निजी अस्पताल, निजी स्कूल, ठेक्कापट्टा र व्यापारतर्फ लम्किएको आरोप आयो ।
संगठनभित्र निष्ठावान, त्यागी र विचारमा अडिग कार्यकर्ताहरू पछि पर्दै गए, र चाकडी गर्न सक्ने, पैसा जुटाउन सक्ने, व्यक्तिवादी लाभमा तल््िलन कार्यकर्ताहरूले नेतृत्व सम्हाल्न थाले। माओवादीले उठाएका मूल मुद्दाहरू नारामा सीमित रहेको अनुभुति भयो । जनताको स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता विषयहरूमा सुधार गर्ने अपेक्षा गरिए पनि व्यवहारमा तिनै संस्थाहरूलाई निजीकरणतर्फ उन्मुख बनाइयो। क्ेहि नेताहरूले निजी विद्यालय खोले, महँगा अस्पताल निर्माण गरे, र जनताको पीडालाई वास्ता गर्न छाडे।
समयक्रममा माओवादी आन्दोलनभित्र वैचारिक प्रशिक्षण कमजोर हुँदै गयो। साम्यवाद, समाजवाद, वर्ग संघर्षजस्ता गहिरा सवालहरू स्कुलिङ र छलफलको विषय बन्न छाडे। व्यवहारवाद र अवसरवाद हावी हुँदै गयो। गुटबन्दी, लेनदेन र पहुँचको राजनीति विस्तार हुंदै गयो। पार्टीभित्रकै नियुक्ति र निर्णयमा पनि आर्थिक चलखेलले स्थान पाउन थाल्यो। यसले गर्दा जनताबीचको विश्वास गुम्दै गयो र माओवादीप्रति वितृष्णा फैलिन थाल्यो।
आज माओवादी आन्दोलन विभाजित छ। विभिन्न गुटहरूमा बाँडिएर चुनावी समीकरणका भरमा बाँच्न खोजिरहेको अवस्था छ। आन्दोलनका एजेन्डा ओझेलमा परेका छन र जनताको बीचमा आन्दोलनले जगाएको आशा निराशामा परिणत भएको छ। जनताले सम्झिरहेका छन सशस्त्र संघर्ष गरेर ल्याएको गणतन्त्रले उनीहरूको जीवनमा के परिवर्तन ल्यायो ? आन्दोलनका नायकहरूले किन जनताको पक्षमा काम गर्न सकेनन ?
अहिले पनि परिवर्तन सम्भव छ। तर त्यसका लागि पुराना, भ्रष्ट र थाकेका नेतृत्वले जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ। अब विचारमा अडिग, इमानदार, उर्जाशील र जनस्तरसँग सिधा सम्पर्कमा रहने नयाँ पुस्तालाई अगाडि ल्याउन आवश्यक छ। पार्टीले वर्गीय दृष्टिकोणलाई व्यवहारमा उतार्न सक्नुपर्छ, । शिक्षा, स्वास्थ्य, रोजगारी, किसान, श्रमिक र सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ। निजीकरण र दलाल पुँजीवादको आलोचना गर्ने मात्र होइन, त्यसको वैकल्पिक प्रणाली निर्माण गर्नुपर्छ।
माओवादी आन्दोलन नेपाली जनताको लामो इतिहासमा सबैभन्दा महत्वपूर्ण, साहसी र बलिदानी आन्दोलनमध्ये एक थियो, जसले राजनीतिक, सामाजिक र वैचारिक तहमा गहिरो असर र्पुयायो। यो आन्दोलन शोषण, अन्याय, जातीय र वर्गीय विभेदको विरुद्ध उठेको थियो, जसले जनतामा न्याय, समानता र समावेशी विकासको आशा जगायो। तर आन्दोलनको फलस्वरूप प्राप्त उपलब्धिहरू—गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता—लाई व्यवहारमा रुपान्तरण गर्न सकेन। बरु सत्तामा पुगेपछि नेतृत्वकै कमजोरी, स्वार्थ, विचलन र भ्रष्ट प्रवृत्तिका कारण आन्दोलनको सार मक्किँदै गयो। जनता र पार्टीबीचको सम्बन्ध चिसिँदै गयो, र आन्दोलनकै नाममा कमाउने, पद पाउने, सत्ताको भागबण्डामा रमाउने प्रवृत्ति हावी हुँदै गयो।
अहिलेको अवस्थामा माओवादी आन्दोलनले फेरि आफ्ना आदर्श र सपना सम्झन जरुरी छ। यो केवल आत्मालोचनाको समय होइन, अबका दिनमा के गर्ने भनेर स्पष्ट दिशानिर्देश तयार पार्ने निर्णायक मोड पनि हो। आन्दोलन फेरि जनतामा स्थापित हुन, विश्वास पुनः प्राप्त गर्न र आफ्नो ऐतिहासिक भूमिका पूरा गर्न मनन गर्न पर्ने कुराहरु छन ।
१) नेतृत्वमा पुस्तान्तरण गर्नुपर्छ- पुराना, थाकेका, स्वार्र्थी, भ्रष्ट र नैतिक संकटमा परेका नेताहरूले जिम्मेवारीबाट पछि हट्नुपर्छ। विचार, साहस र प्रतिबद्धता भएको नयाँ पुस्तालाई अगाडि ल्याउन सक्नुपर्छ। जेनजी आन्दोलनको मकसद पनि यहि देखियो ।
२) आन्दोलनका मूल मुद्दामा फर्किनुपर्छ — वर्गीय समानता, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी लोकतन्त्रलाई व्यवहारमा उतार्न आवश्यक छ। नारामा मात्र जनवाद र समाजवाद होइन, व्यवहारमा पनि जनमुखी नीति कार्यान्वयन गरिनुपर्छ।
३) भ्रष्टाचार र अनैतिक व्यवहारको कडाभन्दा कडा विरोध गर्नुपर्छ — आफ्नै पार्टीभित्र देखिएका अनियमितता, लेनदेन, पहुँचका राजनीति र निजी स्वार्थका विरुद्ध स्पष्ट र कठोर कार्यवाही गर्नुपर्छ।
४) जनस्तरमा पुनः संगठन निर्माण गर्नुपर्छ — गाउँगाउँ, बस्तीबस्तीमा जनताको बीचमा बसेर उनीहरूको समस्या बुझ्ने, सुन्ने र समाधान गर्ने कार्यशैलीमा फर्किनुपर्छ। चुनाव केन्द्रित राजनीति मात्र होइन, जनमूलक संगठन निर्माणमा ध्यान जानु पर्छ।
५) वैचारिक प्रशिक्षण र राजनीतिक शिक्षालाई बल दिनुपर्छ — कार्यकर्तालाई विचार, दृष्टिकोण र नीति–कार्यक्रमका बारेमा स्पष्ट बनाउने निरन्तर स्कुलिङ र संवाद आवश्यक छ, ताकि संगठन केवल भीड होइन, विचार र सिद्धान्तमा अडिएको बलियो ढाँचा बनाउनु पर्दछ ।
६) आत्मालोचना र जनताको समीक्षा खुला रूपमा स्वीकार गर्नुपर्छ — विगतका गल्तीहरूलाई ढाकछोप होइन, स्पष्ट र साहसिक रूपमा स्वीकृति दिँदै सुधारको बाटोमा हिँड्नुपर्छ। यही जनतासँगको विश्वास निर्माणको सुरुवात हुनेछ।
यदि माओवादी आन्दोलनले फेरि आफ्नो जरा जनतामै गाडेर, विचार र व्यवहारबीचको खाडल मेटेर, त्याग र इमानको बाटो समातेर अगाडि बढ्न सकेन भने यो आन्दोलन विफल भएको इतिहास दर्ज हुनेछ । अझै समय छ । आत्मालोचना गरौं, सुधारको बाटो समाऔं, र जनताको साथमा फेरि उभिन सक्ने हिम्मत गरौं।
माओवादी आन्दोलनको मूल आत्मा अझै मरेको छैन, तर त्यसलाई पुनर्जीवित गर्न नेतृत्वले अब ईमानदारी, निष्ठा र साहस देखाउनु पर्दछ। जनताको विश्वास पुनः जित्न नेतृत्वले चिल्ला भाषण होइन, जीवन्त व्यवहार प्रस्तुत गर्नुपर्छ। बिचार, ब्यबहार र नैतिकता भएका बिच नया आधारमा नया एकताको वातावरण हुनुपदृछ । यदि यो सम्भव भयो भने, माओवादी आन्दोलन फेरि एकपटक परिवर्तनको ऐतिहासिक शक्तिको रूपमा उदाउन सक्छ।
(न्यौपाने, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको स्कुल बिभागमा क्रियाशिल छन् ।)
वि.सं.२०८२ भदौ ३१ मंगलवार १७:०८ मा प्रकाशित






























