back
CTIZAN AD

प्रिय जेनजी, देशलाई बबार्दी हुन नदेउ

वि.सं.२०८२ भदौ २६ बिहीवार

3.9K 

shares

बन्द गरिएको सामाजिक सञ्जालको संचालन र भ्रष्टचारमुक्त नेपालको मागसहित गर्नुभएको तपाईहरुको प्रदर्शनबाट एउटा माग त भाद्र २३ गते नै पुरा भएको हो । सो दिनको प्रर्दशनमा सुरक्षाकर्मीतर्फबाट भएको क्रुरताले देशका होनाहार युवाहरुको ज्यान लियो । प्रदर्शनमा कोहि नमारिएको भए शायद तपाईहरु निरन्तर आन्दोलन गर्ने पक्षमा त्यत्ति रुचि पनि राख्नु हुँदैनथ्यो । तर सो दिनको तपाईहरुको प्रदर्शनमा घुसपैठ गरेर विभिन्न पक्षले विभिन्न तरिकाले आफ्नो स्वार्थ पुरा गर्न खोजे र त्यो कुरा एकपछि अर्को गर्दै स्पष्ट हुँदै पनि गएको छ । तपाईहरुले प्रदर्शन सुरु गर्नुभयो र त्यसैको आडमा घटेका पछिल्ला घटनाहरुको जिम्मेवारी तपाईहरुले नचाहेर पनि लिनै पर्ने बाध्यतामा आइपुग्नु भएको छ । हो, तपाईहरुमा ज्ञान छ, देशविदेशको घटना परिघटनाको अध्ययन गर्नुभएको छ । कुनै समस्या आए अध्ययन गरेर निष्कर्ष निकाल्न सक्ने क्षमता तपाईहरुमा छ । तर हिजो भाद्र २६ गते आन्दोलनको नेतृत्वकर्ता को त भन्ने विषयमा तपाईहरुबीच भएको अन्यौलता र स्वार्थ बोक्दै आफैले आफूलाई नेतृत्व भएको बताउँदै हानथाप गरिरहेको भिडियोहरु हेरि राख्दा थुप्रै अनुभव बटुलेका हाम्रो पुस्तालाई पीडा भएको छ । तपाईहरुको पुस्ता पढेर जान्नु भएको होला, तर तपाईहरुको बा आमा पुस्ता भनेको पढेर अनि परेर पनि अनुभवी छ । तपाईहरुबीच नै भएको हानाथापले कतै गलत दिशामा त देश जाने होइन, विदेशीको प्रभावमा देश पर्ने त होइन भन्ने चिन्ता बढाएको छ । यहि चिन्ताको कारणले आफ्नो अनुभव नलेखि बस्न सकिएन र यो लेख्न बाध्य भएँ ।

प्रिय जेनजी

यतिबेला देश असामान्य मोडमा आइपुगेको छ । तपाईहरुले राखेको सुधारको आन्दोलनले देशको सत्ता मात्र पल्टिएन अब के त ? भन्ने गम्भिर स्थितिमा देश पुगेको छ । कोहि पनि नेपाली आफ्नो विचार अभिव्यक्त नगरि चुप लागेर लामो समय बस्न सक्ने अवस्था छैन । सबैले आ–आफ्नो विचार व्यक्त गरिरहेका छन् । अरुले चिन्ता व्यक्त गरिरहँदा तपाईहरु भने ठूलो दबाबमा पर्नुभएको छ । यो बेला तपाईहरु जोशले होइन होसले निर्णय लिनु पर्नेछ । हाम्रो राजनीतिमा छिमेकी देशले सँधै भूमिका खेल्ने गरेको स्पष्ट देखिन्छ । अझ अहिले सञ्जालहरुमा आइरहेको भारतीय खुफिया एजेन्ट र का व्यक्तिहरुको अभिव्यक्ति हेर्दा तपाईहरुको आन्दोलनलाई गलत मोड दिएर आफ्नो हस्तक्षेप खुल्ला रुपमा देखाउन चाहेको स्पष्ट देखिन्छ । देश जलेर सकिंदा त्यो खरानीको न्यानो छिमेकी देशले लिईरहेको कुरा तपाईहरुले पनि बुझ्नु भएको होला । यस्तो बेला तपाईहरु कसैको दबाब र प्रभावमा होइन, आफ्नो देशको आवश्यकता अनुसार नेतृत्व अघि सार्न सक्नु हुनेछ भन्ने विश्वास नेपाली जनतालाई छ । यो बेला तपाईहरुले सहि निर्णय लिन सक्नु भएन भने देशको बर्बादिको दोष तपाईको पुस्तौ पुस्तालाई सँधै लागिरहने छ र तपाइको पछिल्लो पुस्ताले कालो नजीर पढनेछ ।

आफ्नो मौलिक अधिकारको माग गर्दै सुरु गर्नुभएको तपाईहरुको आन्दोलन आम जनताको भएकै कारण जनता पनि सडकमा निस्किएर साथ दिएका हुन् । यद्यपी सो आन्दोलन पछिको ध्वंश हेर्दा स्वतस्र्फुत नभै योजनामा भएको विश्लेषणहरु पनि गरिएका छन् । नेपाली सेनाले आफ्नो नाकै अगाडिका संरचनाहरुमा आगो लगाइँदा कुनै एक्सन नलिनु, ढिलो गरी सेना परिचालन गर्नु, प्रधान सेनापतिले राष्ट्रपतिलाई राजीनामा दिन दबाब दिनु र सैनिक अड्डामा प्रधानमन्त्रीका लागि कर्मचारी मागे झैँ दरखास्त आह्वान गर्नु र सेना प्रमुखले नै स्वार्थी प्रेरित व्यक्तिहरुलाई नेतृत्वको अगुवा भनेर उतार्नुले पनि आन्दोलन नियोजित रुपमा भएको थियो भन्ने देखिन्छ । भारतीय विश्लेषक आनन्द स्वरुप वर्माले पनि सोहि टिप्पणी गरेका छन् । त्यो आन्दोलन शान्तिपूर्ण रुपमा निरन्तर अझ केहि दिन चलिरहेको भए त्यो राजनीतिक आन्दोलन बन्न सक्दथ्यो र त्यसले ल्याउने परिणाम देशको आवश्यकताको आन्दोलन बन्न सक्दथ्यो तर आन्दोलनमा घुसपैठ गरि स्वार्थी समूहले देशलाई खरानी पारे अनि त्यहि खरानीको थुप्रोमाथि फेरि पनि स्वार्थ पुरा गर्न खोज्दैछन् यो कुरामा सर्तक बन्नुहोला ।

यति भने जेनजीले बुझनै पर्छ, नेपाल आज इतिहासकै भीषण मोडमा छ, जहाँ सजगता, सतर्कता र राष्ट्रनिर्माणको निष्ठा सहित दीर्घकालीन दृष्टिकोण अनिवार्य भएको छ ।

यो आन्दोलनको नेतृत्व काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गरिरहेको भन्ने प्रचार आम रुपमा थियो । युवा नेतृत्व भएका कारण पनि उनी युवाहरु माझ लोकप्रिय नै मानिन्छन् । त्यसैले पनि उनको स्टाटसमा युवाहरुको क्रेज अत्यन्त देखिने गरेकै हो । बालेनले सुरुमा जस्तो स्टाटस लेखे त्यो आक्रोश उनको प्रधानमन्त्री केपी शर्मा ओलि लक्षित देखिन्थ्यो । ओलिको कार्यशैलीप्रति बढी नै आलोचक देखिएका उनी मात्र होइन थुप्रै नेपालीहरु उनको कडा स्टाटसबाट उत्तेजित देखिन्थे । जेनजीको नाममा उनले समर्थन गरेको आन्दोलनले यति भयंकर रुप लिन सक्छ भन्ने अनुमान शायद उनले पनि गरेका थिएनन्, यद्यपी उनी आफ्नो योजना अनुसार नै सफल भएको भन्ने देखाउने प्रयास गर्दैछन् । उनको पछिल्ला स्टाटसहरु हेर्दा र उनले दिएको ठाडो निर्देशन हेर्दा त्यो स्पष्ट देखिन्छ ।

यसअघि पनि नेपालमा थुप्रै आन्दोलनहरू भएका छन्, २००७ साल, ०१५ साल, ०३६, २०४७, १० बर्षे जनयुद्ध अनि २०६२/०६३ सालको आन्दोलनहरु भए । देशमा परिवर्तनको आशा राखेरै हरेक आन्दोलनमा नागरिकले साथ दिँदै आएका हुन् । तर हरेक आन्दोलनपछि जनताले आफूले सोचे जस्तो परिवर्तन प्राप्त गर्न सकेनन् । मान्छेको स्वभाव नै हो, देशमा परिवर्तन के भयो भन्ने भन्दा पनि मैले के लाभ पाएँ भन्ने दृष्टिबाट समिक्षा गर्ने प्रवृत्ति हुने हुँदा जनता कुनै पनि आन्दोलनपछि सन्तुष्ट बन्न सकेका छैनन । तर हरेक आन्दोलनहरुले देशमा केहि न केहि परिवर्तन ल्याएकै छन् । हिजोको अवस्था के थियो र कुन आन्दोलनपछि देशले के परिवर्तन पायो भन्ने कुराको भोगाई अहिलेको नयाँ पुस्ताले गरेको छैन । अहिलेको पुस्ता प्रविधिको बीचमै जन्मियो र उसको दैनिकी पनि यहि प्रविधिमै बित्ने गरेको छ । उनीहरुलाई प्रविधि बिना सास फेर्न पनि गाह्रो हुन्छ भन्ने कुराको अनुभव हाम्रो पुस्ताले देखेकै छ । यस्तो बेला सबै सञ्जालहरु बन्द गरिँदा आक्रोश बढ्नु स्वभाविकै थियो र सबै युवाहरु एकजुट भएर संजालमै जेनजी तयार भयो र त्यसले आन्दोलन पनि गर्यो । तर आन्दोलन नेतृत्वविहिन थियो । स्वतस्र्फूत रुपमा उठेको आन्दोलन भएको र त्यसलाई सरकारले सजिलै स्वीकार गर्ने अवस्था रहेका कारण पनि शायद त्यहाँ नेतृत्व खोजि रहनु पर्ने अवस्था पनि थिएन । तर आन्दोलनलाई घटनाले यस्तो अवस्थामा पु¥यायो, अहिले सबै आफूलाई नेतृत्व भनेर अघि सारिरहेका छन् र लाजमर्दा दृश्यहरु आएका छन ।

हिजोको अवस्था के थियो र कुन आन्दोलनपछि देशले के परिवर्तन पायो भन्ने कुराको भोगाई अहिलेको नयाँ पुस्ताले गरेको छैन । अहिलेको पुस्ता प्रविधिको बीचमै जन्मियो र उसको दैनिकी पनि यहि प्रविधिमै बित्ने गरेको छ ।

मेयर बालेनज्यू
कुनै पार्टीमा सम्बद्ध नभए पनि युवा भएको र उसले महानगरको नेतृत्व गर्न सक्छ भन्ने देखेर नै सबैले आफ्नो पार्टी संगठन भन्दा पनि माथि उठेर मत हालेर जिताएका हुन् । ब्यक्तिगत रुपमा उहाको कार्यको प्रशंसक म पनि हुँ र मैले संजालमा पनि धेरै पटक लेखेको छु । मान्छेहरुले गर्ने उहाको आलोचनाको प्रतिकार गर्दछु तर पछिल्लो दिनमा ‘संसदको विघटन गर्नुस् भनेर’ राष्ट्रपतिलाई दिएको ठाडो निर्देशन कतै निरंकुशता तर्फ त बढिरहेको छैन भन्ने आशंका बढाएको छ । बालेन जी, यतिबेला तपाईसँग थुप्रै युवाहरुको आशा छ । तपाईका कुरामा युवाहरु छिट्टै प्रभावित हुन सक्छन् । त्यसैले पनि तपाईलाई अहिले ठूलो युवा समूहले नियाली रहेकै छ । तर पुरानै व्यवस्थातर्फ फर्काउने खेलमा कतै तपाई पनि सामेल हुने त होइन भन्ने आशंका देखिन्छ । एउटा व्यक्तिमाथिको आक्रोशलाई लिएर व्यवस्था नै पल्टाउन सहभागि हुनुहुन्छ भने तपाईलाई इतिहासले माफि दिने छैन । तपाईले नै सञ्जालमा लेख्नु भएको छ सन्तानको माया कति हुन्छ भनेर । तपाईले अहिले गर्ने गलत निर्णयले भोलि तपाईको सन्तानलाई पीडा दिन सक्छ भन्नेतर्फ तपाई सचेत हुने की नहुने ? हो हाम्रो व्यवस्थामा थुप्रै समस्याहरु छन्, भ्रष्टहरु छन, अविवेकी छन र घातीहरु पनि छन । त्यसलाई सुधार वा रुपान्तरणतर्फ लानेकुरामा तपाई हाम्रो पहल हुनुपर्दछ । तपाई भलिभुत जान्ने हुनुहुन्छ, हाम्रो छिमेकी देश कसरी हामीमाथि सँधै हस्तक्षेप गर्ने मौका खोजिरहेको हुन्छ भनेर । के तपाई चाहनुहुन्छ र देश विदेशीको गुलाम बनोस् ? तपाई जस्तो सचेत व्यक्ति र पारिवारिक रुपमा पनि पिता बनिसक्नु भएको व्यक्तिले भविष्यको आँकलन नगरि कुनै पनि निर्णय लिनुहुनेछैन । यो आन्दोलनको अगुवा पनि तपाई भएकाले हाम्रो इतिहासमा कलंकित हुने कुनै पनि निर्णय हुने छैन । हिजो इतिहास जित्नेले मात्र लेख्ने अवस्था थियो तर आज प्रत्येकले आफ्नो इतिहास आफै लेख्ने अवस्था छ । त्यो सुनौलो इतिहास लेख्ने अवसर तपाई हामी सबैको हो । यहि संविधानमा टेकेर अघि बढौँ ।

धरातलीय यथार्थमा हेर्दा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले मात्र होइन, दशकौँदेखि सञ्चित असन्तोष र निराशाले पनि आन्दोलनलाई बल दिएको हो । जनताले अनुभव गरेको बेरोजगारी, अवसरको असमान वितरण, र राजनीतिक नेतृत्वको बेइमानीले यो विस्फोटलाई जन्मायो । युवाविद्यार्थीहरूले विद्यालय वर्दीमै किताब बोकेर प्रदर्शनमा सहभागी हुनु, उनीहरूको स्वतःस्फूर्त उभार मात्र होइन, देशको भविष्यप्रति चिन्ता र असन्तोषको स्पष्ट संकेत हो ।

अहिलेको घटनामा एउटा विशेष पाटो प्रष्ट देखिन्छ की नेतृत्व र मागको स्पष्टता छैन । आन्दोलन नेतृत्वविहीन जस्तो देखिए पनि ‘हामी नेपाल’ जस्ता युवा सञ्जालले निर्देशन दिने, सूचना प्रवाह गर्ने भूमिका खेलिरहेका छन् । तर यो आन्दोलनलाई कतिपयले विदेशी शक्तिको संलग्नता भएको आरोप पनि लगाइरहेका छन् । खासगरी अमेरिका र भारतको भूमिका, सेना र राजनीतिक संरचनामा देखिएको घुसपैठ, यी सबै चर्चाको विषय बनेका छन् । इतिहास हेर्दा, राजतन्त्र हटाउँदा पनि विदेशी शक्तिहरू मौन थिएनन्, अहिले पनि उनीहरूको निगरानी अवश्य छ ।

यसअघिको प्रचण्ड सरकारले केहि सामाजिक सुधारको प्रयास गरेकै हो, तर केहि ठूला नेताहरु पनि पक्राउ पर्ने भएपछि भ्रष्टहरुलाई बचाउन रातारात नयाँ सरकार बनेको कुरा छिपेको छैन । पुराना पार्टी भन्दैमा एउटै आँखाले हेर्न मिल्दैन । आन्दोलनका समयमा नेकपा (माओवादी केन्द्र)का नेताहरुको घरहरु कम क्षति गरियो भनेर सञ्जालहरुमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै योजनामा आन्दोलनमा घुसपैठ भएको आलोचना आईरहेका छन् । स्वभाविक रुपले प्रतिपक्षमा रहेको र आफू सरकारमा हुँदा जनपक्षिय काम गर्न खोजेको कारणले नागरिको आक्रोस कम देखिएको पनि हुनसक्छ । यति हुँदाहुँदै पनि माओवादी नेताहरुको घर कम जलेको भन्ने होइन । माओवादीको केन्द्रीय कार्यालय जलाइयो । प्रचण्डको काठमाडौ तथा चितवनको घर, छोरी गंगा दाहालको घर पनि जलाइएकै छन् । नन्दकिशोर पुन ‘पासाङ’ को मात्र होईन, राम नारायण बिडारी, अग्नि सापकोटा, राजन दाहाल, माधव सापकोटा लगायतका घर र विभिन्न ठाउँका पार्टी कार्यालयहरु जलाइएकै छन् ।

नेतृत्व बारे धेरै विवाद नगरौँ
अन्तरिम सरकारको नेतृत्व कसलाई गराउने बारे जेन जी को ठोस निष्कर्षकै बारेमा अन्यौल छ । पूर्व प्रधानन्यायाधीस सुशिला कार्कीको नेतृत्वमा जाने भन्ने अत्याधिक मत सो समुहको भर्चुअल बैठकमा आएको हो । कतिपय पुराना पार्टीका नेतृत्व गलत भएपनि ती पार्टी भित्र राम्रा मान्छेहरु पनि छन् । उनीहरु सबैलाई भ्रष्टाचारीको बास्केटमा राखेर हेर्न मिल्दैन । राम्रा नराम्रा मान्छे जहाँ पनि हुन्छन् । हामी आफै भित्र पनि राम्रा नराम्रो कुरामा मनमा विवाद हुन्छ भने केहि व्यक्तिले कोहीप्रति गरेका टिकाटिप्पणी सुन्नु भन्दा पनि छिटो भन्दा छिटो देशलाई निकास दिने तर्फ जेनजी तयार हुनुपर्दछ । जति ढिला गर्यो उति अवस्था नियन्त्रण बाहिर जाने र हामीले गरेको आन्दोलनको उपलब्धिलाई ग्रहण गर्नुभन्दा पछुतो मान्नु पर्ने अवस्था आउन दिनु हुँदैन । यो बेला को नेतृत्व भन्ने कुरामा झगडा गर्नुभन्दा पनि जेनजीले छानेको ब्यक्तिलाई संसदबाटै अनुमोदन गराएर बैधानीक प्रक्रियामा गै सानो अन्तरिम सरकार बनाएर निर्वाचनमा जानु नै बेस हुन्छ ।

नयाँ सम्भावना र अवसर
केहि घण्टामै देशका सम्पूर्ण सरकारी संरचना खरानी भएको देख्दा अब देश कसरी उठ्ला ? ऋणैऋणमा रहेको नेपालले ती संरचनाको पुर्न निर्माण अब कसरी गर्ला ? को नेतृत्व आउला र यस्तो अस्तव्यस्त देश सम्हाल्न जस्ता प्रश्नहरुको आशंकाले नेपालीहरुको मन भयवित छ । इतिहासले सिकाएको छ—परिवर्तन सजिलोसँग हुँदैन । हिजो बनाइएका संरचना ध्वस्त बनाएर नयाँ संरचनामा नयाँ तरिकामा अघि बढ्ने भन्ने मान्यतामा हेर्दा त्यो भौतिक क्षतिलाई भुल्न सकिने अवस्था भने छ । युवाहरुमा निर्णय लिन सक्ने र समस्याको समाधान छिटो खोज्न सक्ने क्षमता हुन्छ । साँच्चै नै सक्षम र कोहि युवा नेतृत्वमा आउन सक्यो भने देशले छोटो समयमै काँचुली फेर्न सक्दैन भन्ने हुँदैन । ध्वस्त भएका देशहरुले छाटो समयमा नै प्रगति गरेका उदाहरण पनि हाम्रा सामु छन् । ३० वर्षसम्म बच्चा नै भइराख्ने र चिया समेत आमाले पकाएर खाने बानीमा हुर्किएका हाम्रा युवा पुस्ताले के देशै हाँक्न सक्ला त भनेर शंका उठेका पनि छन । यतिमात्र होइन नेपाली युवायुवतीको विदेश जाने ट्रेण्डले पनि युवा नेतृत्व के साँच्चै देशमै बसेर नेतृत्व गर्ने चाह राख्ला त भन्ने पनि हो । तर आशंका भन्दा पनि यो बेला विश्वास गर्नुपर्ने अवस्था छ । पुरानो दिशामा होइन नयाँ गन्तव्य तर्फ अघि बढ्ने हो । व्यवस्थाकै विरुद्धमा हिजो पटकपटक आन्दोलन भएकै हुन् । फेरि पनि पुरानो व्यवस्थातर्फ जाने हो भने यत्रो आन्दोलनको औचित्य नै समाप्त हुनेछ । अहिले युवाहरूले उठाएको यो विद्रोहले प्रणालीगत परिवर्तन गर्न सक्नेछ वा फेरि पुरानै नेतृत्वले कब्जा गर्नेछ, त्यो आउने दिनले मात्र बताउनेछ । तर यति भने जेनजीले बुझनै पर्छ, नेपाल आज इतिहासकै भीषण मोडमा छ, जहाँ सजगता, सतर्कता र राष्ट्रनिर्माणको निष्ठा सहित दीर्घकालीन दृष्टिकोण अनिवार्य भएको छ ।

वि.सं.२०८२ भदौ २६ बिहीवार १५:०१ मा प्रकाशित

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...