
पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगरेपछि ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा, काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो ।
१८ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७८ जेठ १८ गते सम्झौता भएको सडक २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक–पटक म्याद थप गरी २०८१ चैत २९ गतेसम्म समय दिँदा पनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
कूल रु. ११ करोड २२ लाख ६६ हजार लागतमा निर्माण हुने झण्डै ६ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति पनि ३५ प्रतिशतमै सीमित भएको थियो । पटक–पटक काममा फर्किन मौखिक र लिखित पत्राचार गरिएको भए पनि निर्माण व्यवसायीले आनाकानी गरेपछि अब ठेक्का नै तोड्ने तयारी भएको छ ।
सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्कविहीन भएपछि सडक अझ अस्तव्यस्त बनेको छ । अहिले यो सडकमा सवारी सञ्चालन गर्न निकै सास्ती भएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।
निर्माण सुरु भएपछि निर्माण व्यवसायीले रु. ४ करोड १३ लाख भुक्तानी लगेको थियो । जमानत जफत भएपछि पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकाले अन्य कारबाही प्रक्रिया समेत अघि बढाइएको छ ।
नाली व्यवस्थापन नगरी भत्काएर छाडेका कारण वडा नं. ५ को काफलडाँडामा रहेको गाउँपालिकाको कार्यालय, बालाकोट र होश्राङदीका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको अध्यक्ष भुसालले बताए । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजनाअन्तर्गतको यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीयवासीले बताएका छन् ।
वि.सं.२०८२ असोज २२ बुधवार ०७:४९ मा प्रकाशित