काठमाडौँ : नेपाल सम्वत् ११४६ आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। यो सम्वत् नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरेर नेपाल सम्वत् सुरु गरेका थिए। नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले बताए।
उनका अनुसार लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्को रूपमा चल्थ्यो। लिच्छविकालअघि शक सम्वत् चलनमा थियो। नेपाल देशकै नामबाट राखिएको भएकाले यो मौलिक सम्वत् भएको उनले भने।
विसं २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिन माग गर्दै अभियान सुरु भएको थियो। काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत स्थानमा बस्ने नेवार समुदायले यो सम्वत्लाई नयाँ वर्षका रूपमा मनाउँछन्।
गरिब जनताको ऋणमोचन गरेर सामाजिक सेवाको राम्रो उदाहरण प्रस्तुत गर्ने शंखधर साख्वाको योगदानको कदर गर्दै विसं २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उनलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
विसं २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा अहिले पनि काठमाडौँमा चलिआएको छ।
वि.सं.२०८२ कात्तिक ५ बुधवार ०७:४९ मा प्रकाशित






























