काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तुष्टि तीव्र बन्दै गएको छ। देशभरका युवाहरूले सामाजिक सञ्जाल र सडक दुबै माध्यमबाट मन्त्रीलाई तत्काल भ्रष्टाचार र हत्या प्रकरणमा कारबाही गर्न माग गर्दै खबरदारी गरेका छन्।
‘जेनजी’ आन्दोलनको नेतृत्व गर्दै आएका सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमा एक विस्तृत स्टाटस लेख्दै गृहमन्त्री अर्याललाई चेतावनी दिएका छन्। उनले गृह मन्त्रालयले जनताको आवाज बेवास्ता गर्दै मौनता अपनाएको भन्दै त्यसलाई ‘राष्ट्रप्रतिको अपमान’ को संज्ञा दिएका छन्।
उनको स्टाटस लेखिएकाे छ, “देशभरबाट ‘हत्यारालाई कारबाही गर’ र ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि गृह मन्त्रालय मौन रहनु राष्ट्रप्रति अपमान हो।”
गुरुङले गृहमन्त्रीलाई सम्झाउँदै थप लेखेका छन्, “सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्। ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो —न कुनै भ्रष्टाचारलाई कारबाही भयो, न कुनै हत्यारालाई।”
उनले देशको हितका लागि लड्दा आफूलाई विभिन्न भ्रामक समाचार र चरित्रहत्या सहनु परेको दाबी गर्दै लेखेका छन्, “अहिलेसम्म के हुन्छ कि भनेर देशको हितका लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसेँ। कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ किनभने मैले सोचेको थिएँ—कामले देखाउँछ र कामले बोल्छ। तर अब तपाईंबाट आशा मरिसकेको छ।”
गुरुङले कवितात्मक शैलीमा आन्दोलनको मर्म पनि व्यक्त गरेका छन्। “हामी लड्यौं योग्य, इमानदार र परिणाम देखाउने नेतृत्वका लागि। हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं,” उनले लेखेका छन्।
अबको आन्दोलन कुनै व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रको भविष्यका लागि भएको उल्लेख गर्दै जनताको माग सम्बोधन नभए चुनावसम्म प्रभावित हुन सक्ने बताएका छन् ।
उनले लेखेका छन्, “अब भीत्र मनमै सोच्नु होला—‘चुनाब गराएर निक्लिन्छु।’ The youths of Nepal are not stupid, we are waiting. त्यसैले चेतना होस्। चुनावको नाटक नचलोस्। ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो। नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।”
उनले गृहमन्त्रीलाई पुनः लक्षित गर्दै भनेका छन्, “अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्सी बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।”
गुरुङले अन्त्यमा लेखेका छन्, “Do your damn job that you have been sent for. जनता जागिसके। युवा जागिसके।”
गुरुङको उक्त स्टाटस सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल बन्दै गएको छ। धेरै प्रयोगकर्ताहरूले उनको पोस्टमा समर्थन जनाउँदै सरकारप्रति असन्तुष्टि प्रकट गरेका छन्। यस विषयमा गृह मन्त्रालयले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४३ मा प्रकाशित






























