मेरो सुरुदेखि नै बामपन्थी विचार भएका व्यक्तिहरु सँग संगत रह्यो । त्यसैले कम्युनिष्ट पार्टीका घोषणा पत्र र मार्क्स एड्गेल्स लेनिन , माओका जीवनीहरु पढे । पढी सकेपछी कम्युनिष्ट पार्टीको निर्देशनमा संगठनमा बसेर काम गर्न मन लाग्यो । मलाई देशभित्र र
विदेशमा यसरी काम गर्ने अवसर पनि मिलेको थियो । त्यतिखेर मलाई कम्युनिष्ट पार्टीभित्र कम्युनिष्ट नैतिकता र प्रगतिशील सस्कृति अनुरुप काम भएको होला भन्ने लागेको थियो ।
विदेशको बसाइ सिध्याएर नेपाल फर्केपछि नेपालका सबै कम्युनिष्ट पार्टीका प्रमुख नेताहरु संग घुलमिल हुने मौका पाएँ । तर भेटेकामध्ये धेरै व्यक्तिहरुमा मैले पढे शोचे र अध्ययन गरे अनुरुपको कम्युनिष्ट नैतिकता पाउन सकिन । नेपालका कम्युनिष्ट पार्टीहरुले मार्क्स एड्गेल्स लेनिन, माओको नाममा जनतालाई झुक्याउन खोजिरहेको त होइन भन्ने कौतुलता जाग्यो ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको पनि झन्डै सात दसक बित्न लाग्यो । तर अहिलेसम्म पनि कम्युनिष्ट पार्टीहरुमा पूंजीवादी चिन्तन हावी भएको पाइन्छ । बर्जुवा सोचाई हुनु, धर्मकर्म बाट मुक्त हुन नसक्नुको कारणले पनि हामि पछी परेको त होइन रु यस्तै अबस्था रही
रहने हो भने नेपालमा अझै सय बर्ष पुग्दा पनि परिवर्तन आउला जस्तो लाग्दैन । त्यसैले अब यस विषयमा समीक्षा गर्ने बेला आएको हो कि ?
जुन जुन देशमा कम्युनिष्ट ब्यबस्था लागु भए, ति देशमा कम्युनिष्ट नेताहरुले नीति सिद्धान्त र नैतिकताभित्र रहेर मार्क्स, एड्गेल्स ,लेनिन माओको सिद्धान्तलाई अनुसरण गरेका थिए । त्यसकारण ति देशमा सामाजिक परिवर्तन गर्न सफलता मिल्यो ।
यता हाम्रो देशमा यतिका बर्ष बितिसक्दा पनि हामि जहाँको त्यहिँ छौं । हामीले सहि शिक्षा दिन नसक्नु र आदर्श आचरण प्रस्तुत गर्न नसक्नुको कारणले नयाँ पिढीमा पनि बितृष्णा जाग्दै गएको छ । हामी बेलैमा सचेत नभई तिनै रुढीवादी परम्परा, धर्म, पूंजीवादी चिन्तन, विलासिताको जिन्दगीमा अल्झियौ भने देशमा सामाजिक परिवर्तन गर्न सकिएला ?
वि.सं.२०७४ जेठ २९ सोमवार ०९:२० मा प्रकाशित






















