काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमार्फत सहभागी हुन इच्छुक राजनीतिक दललाई समयमै निवेदन दिन आग्रह गरेको छ।
शुक्रबार जारी सूचनामा आयोगले मंसिर २१ देखि २३ गतेसम्म दल दर्ता तथा समानुपातिकतर्फका लागि आवश्यक सबै कागजात पेस गर्न सकिने जनाएको छ। आयोगका अनुसार निवेदन दिने दलले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूचीअनुसारको ढाँचा अनिवार्यरूपमा पूरा गर्नुपर्नेछ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन चाहने दल राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्ने प्रावधान लागू हुन्छ। अहिले प्रत्यक्षतर्फ निर्वाचन प्रयोजनका लागि ११७ दल दर्ता भइसकेका छन्।
सूचीमा अनिवार्य ५० प्रतिशत महिला
आयोगका अनुसार दलले पेश गर्ने समानुपातिक बन्द सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य राख्नुपर्नेछ। निवेदन पेस गर्दा दलको केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि संलग्न गर्नुपर्ने तथा अधिकार प्राप्त पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्ने आयोगको अनुरोध छ।
यस्तै एउटै चुनाव चिन्ह लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी दर्ता भएका दलको तर्फबाट निवेदन दिने अवस्थामा, ती सबै दलका केन्द्रीय समितिले संयुक्त वा अलग–अलग निर्णय गरी एकै व्यक्तिलाई अधिकार दिएको हुनुपर्छ। अलग–अलग व्यक्तिलाई अधिकार दिएको अवस्थामा ती सबै अधिकारप्राप्त व्यक्तिले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ।
आयोगले बन्द सूची नपेसाउने दलले समानुपातिकतर्फ छुट्टै दर्ता गर्न आवश्यक नपर्ने व्यवस्था पनि स्पष्ट पारेको छ।

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १२:१३ मा प्रकाशित






























