भरतपुर । मध्य नेपालको सुन्दर, समृद्ध तथा सुसंस्कृत शहर भरतपुर महानगरपालिकालाई Green City, Clean City बनाउने लक्ष्यका साथ महानगरले व्यापक हरियाली अभियान सञ्चालन गरिरहेको छ।
अभियानअन्तर्गत महानगरको सिक्स लेन सडकको दायाँ–बायाँ तथा बीचभागमा करिब ६ प्रजातिका ४,००० भन्दा बढी बिरुवा रोपिएका छन्। तीमध्ये केही प्रजातिका बिरुवाहरू अहिले नै ढकमक्क फुलिरहेका छन्। सबै बिरुवाहरू हुर्किएपछि उक्त सडक अझ आकर्षक, रमणीय तथा पर्यावरणमैत्री बन्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, बाइपास रोडमा पनि करिब २,००० बिरुवा रोपिएको छ। फूल फुल्ने मौसममा बाइपास सडक बोगनभिलिया फूलले भरिएर अत्यन्त मनमोहक दृश्य प्रस्तुत गर्ने गर्दछ।
बजार क्षेत्रमा फूल तथा ग्रामीण क्षेत्रमा फलफूल रोप्ने उद्देश्यसहित भरतपुर महानगरका लिङ्क रोड, रिङ रोड तथा अन्य प्रमुख सडकहरूको दायाँ–बायाँ करिब ११,००० बिरुवा रोप्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको महानगरले जनाएको छ।
यसका अतिरिक्त, भरतपुर महानगरपालिकाले आफ्नै पहलमा हरेक वर्ष करिब ८,००० फलफूलका बिरुवा खरिद गरी वडामार्फत नागरिकहरूलाई वितरण गर्दै आएको छ।
भरतपुर महानगरलाई स्वच्छ, सुन्दर र हरियाली शहरका रूपमा विकास गर्ने यस अभियानमा महानगर प्रमुख मेयर रेनु दाहाल स्वयं फिल्डमा खटिएर नेतृत्व प्रदान गरिरहनुभएको छ। उहाँको सक्रिय नेतृत्वका कारण अभियान थप प्रभावकारी बन्दै गएको स्थानीयहरूको भनाइ छ।
वि.सं.२०८२ पुस ३ बिहीवार १२:५८ मा प्रकाशित


























