कविराज घिमिरे
चाँगुनारायण, भक्तपुर
डाह छ मनमा भित्र अनेकौँ
धन धन भन्दै फनफन घुम्छौँ
मानव हामी छौँ पशुजस्ता
भिन्न हुने नै छैन अवस्था ।। १
घात गरेका हात यहीँ छन्
क्रोध भरेका माथ यहीँ छन्
आशय रोगी कदम कदममा
छैन सहजता कतै बदनमा ।। २
जपना हरिको काम छ खट्टा
गुरुवर सँगमा गर्नुछ ठट्टा
मै छु बढेको भन्दछ माथि
तौल घटेको ढाक्छ नढाँटी ।। ३
मित्रहरूमा छन् अपघात
वृद्धहरूको छोड्दछ साथ
बालकप्रति झन् गर्छ उपेक्षा
मानवबिचमा छन् अपशिक्षा ।। ४
मानवले अब धैर्य गरेर
चिन्तन गर्नुछ सभ्य भएर
यो पृथ्वीमा मानवतुल्य
छैन अरू ता जीवन पूज्य ।। ५
छन्द ः पादाकुलक ( १६ मात्रा )
वि.सं.२०८२ माघ १० शनिवार ०९:३४ मा प्रकाशित




























