काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले आजदेखि नेपाली सेना देशभर परिचालन गरिएको छ। एकीकृत सुरक्षा योजना २०८२ अनुसार सेनासहित सुरक्षा निकायहरू निर्वाचन सुरक्षामा खटाइएका हुन्।
यस योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचनका लागि अस्थायी रूपमा भर्ना गरिएका निर्वाचन प्रहरी परिचालित हुनेछन्। मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। बाहिरी सुरक्षा घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ।
नेपाली सेनाले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आजदेखि करिब ७९ हजारभन्दा बढी सैनिक परिचालन गरेको जनाएको छ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन अवधिभर करिब ८० हजार सैनिक परिचालन हुनेछन्। एकीकृत सुरक्षा योजना राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले त्यसैअनुसार फौज परिचालन गरिएको उनले बताए।
निर्वाचनअघि, मतदानका दिन तथा मतगणनासम्म तीन चरणमा सेना परिचालन हुनेछ। मतपत्र छपाइ, ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका तथा मतगणनास्थलको सुरक्षा सेनाको मुख्य जिम्मेवारी रहनेछ। साथै विमानस्थल, कारागार र अन्य संवेदनशील संरचनाको सुरक्षामा पनि सेना खटिनेछ।
मतदानको समयमा नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचन कर्मचारीको सुरक्षामा सक्रिय रहनेछ।
यस निर्वाचनमा ३ हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। कुल मतदाता संख्या १ करोड ८९ लाखभन्दा बढी रहेको छ, जसमा महिला, पुरुष र अन्य समूह समावेश छन्।
देशभर १० हजारभन्दा बढी मतदानस्थलमा २३ हजारभन्दा धेरै मतदान केन्द्र तोकिएका छन्। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ठूलो संख्यामा निर्वाचन प्रहरी परिचालन गरिएको छ। मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गमा विभाजन गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायहरूले जनाएका छन्।
कुनै पनि अप्रिय घटना रोक्न उच्च सतर्कता अपनाइएको र आवश्यकता परे सशस्त्र प्रहरी तुरुन्तै घटनास्थलमा पुग्ने व्यवस्था गरिएको छ।
वि.सं.२०८२ माघ २१ बुधवार १३:४६ मा प्रकाशित






























