back
CTIZAN AD

प्रतिनिधि सभाको निर्वाचनमा ओखलढुंगाः एक विश्‍लेषण

वि.सं.२०८२ फागुन ८ शुक्रवार

1.1K 

shares

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो- ओखलढुंगा। पूर्वमा खोटाङ्ग, पश्‍चिममा रामेछाप, उत्तरमा हिमाली जिल्ला सोलुखुम्वु र दक्षिणतर्फ उदयपुर र सिन्धुलीको सिमासँग जोडिएको यस जिल्ला मल्लकालिन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भिम मल्ललाई यस भेगमा पठाएको र उनको फौजले किराँतहरूलाई लखेटी लुटेको धान ढुंगाको ओखलमा कुटी खाएकाले त्यही ढुंगाको ओखलको नामबाट जिल्लाको नाम नै ओखलढुंगा रहेको जनश्रुती छ।युगकवि सिद्धिचरण श्रेष्ठको बाल्यकाल, शैसवकाल यसै जिल्लामा वितेकाले जिल्ला सदरमुकाम स्थित नगरपालिकाको नामाकरण पनि सिद्धिचरण नगरपालिका गरिएको छ। यो जिल्ला राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको जन्मभूमि पनि हो।

यस जिल्लालाई राजनीतिक तथा प्रशासनिक आधारमा प्रतिनिधीसभा सदस्यको निर्वाचनको प्रयोजनका लागि एक संघीय प्रदेश र प्रदेशसभा निर्वाचनका लागि दुई प्रदेशका रूपमा विभाजन गरिएको छ। स्थानीय तहका आधारमा सिद्दिचरण नगरपालिका, खिजिदेम्बा गाउँपालिका, चम्पादेवी गाउँपालिका, चिशंखुगढी गाउँपालिका, मानेभञ्‍जाङ्ग गाउँपालिका, मोलुङ्ग गाउँपालिका, लिखु गाउँपालिका र सुनकोशी गाउँपालिका गरी विभाजन गरिएको छ। जातियताका आधारमा यस जिल्लामा मुख्य गरी राई, क्षेत्री, बाहुन, गुरूङ्ग, तामाङ्ग, मगर र कामी समुदायको बसोवास रहेको छ भने नेवार, सार्की, शेर्पा र सुनुवार जातिको पनि बाक्लो उपस्थिति रहेको छ। बहुजातिय र बहुभाषिक जिल्ला भएकाले यहाँ मिश्रित साँस्कृतिक विविधता पाइन्छ।

तिनिधि सभाको निर्वाचन, २०७९ को समिक्षाः

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादीसँगको गठबन्धनमा नेपाली काँग्रेसबाट रामहरि खतिवडाले ३३, ५५६ मत ल्याई विजयी भएका थिए भने निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट यज्ञराज सुनुवारले २६, ७२८ मत ल्याएका थिइ। यो निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍चले आफ्नो उपस्थिति जनाएका थिए। प्रदेशसभामा भने गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी माओवादीका बावुराम गौतम र नेपाली काँग्रेसका प्रदिप सुनुवारले विजय हासिल गरेका थिए ।

प्रतिनिधि सभाको निर्वाचन, २०८२ एक समिक्षाः

कुल मतदाता सँख्या १, २२,७१५ मध्ये पुरूष मतदाता ६२, ८४३ अर्थात ५१.२१ प्रतिशत र महिला मतदाता ५९,८७१ अर्थात ४८.७९ प्रतिशत मतदाता रहेको यस जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, श्रम सँस्कृति पार्टी, मितेरी पार्टी नेपाल, उज्यालो नेपाल पार्टी, जनता समाजवादी पार्टी, समाजवादी समावेशी पार्टी र स्वतन्त्र गरी जम्मा १५ जना उमेदवारहरूले जनताका सामु आफुलाई उभ्याएका छन।

दलगत अवस्था र प्रभावः

नेपाल कम्युनिष्ट पार्टी एमालेः

यस जिल्लामा नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट अस्मिता थापा चुनावी मैदानमा रहेकिछन्। लिखु गाउँपालिकाकि उपाध्यक्षको भुमिका समेत निर्वाह गरिसकेकी थापाले आफुलाई पार्टीका अध्यक्ष केपि शर्मा ओली निकट बताउने गर्छिन। ओखलढुंगा जिल्ला पार्टी समितिबाट सिफारिस हुन नसके पनि केपि बाको आर्शिवादका कारण टिकट पाउन सफल थापालाई निर्वाचन भने फलामको च्युरा भएको छ। थापाले आफुलाई जेन-जी पुस्ताको भनी प्रमाणित गर्न खोजेता पनि जेन-जी आन्दोलनका दमनकर्ता केपि बाको आर्शिवाद प्राप्‍त व्यक्ति भएकाले मतदाताले पनि उनलाई दमनकर्ताकै रूपमा बुझेको पाइन्छ। यो जिल्ला विशेषतः केपि बा इतर पक्षको बहुमतको जिल्ला भएको र जिल्लाबाट सिफारिस गरिएका व्यक्तिलाई उमेदवार नबनाएकाले जिल्लाको सम्पुर्ण नेतृत्व नै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको र त्यसको असर स्थानिय तहसम्म पुगेकाले थापालाई यो निर्वाचन फलामको च्युरा सरह बनेको छ।

नेपाली काँग्रेस पार्टीः

केन्द्रमा सभापति गगन थापा निकट मानिने नेपाली काग्रेसका उमेदवार कुमार लुइटेल जिल्लाका वौद्धिक व्यक्तित्वका रूपमा चिनिन्छन।लामो समयदेखि काठमाण्डौंमा बसी केन्द्रीय राजनीतिको वरिपरी घुमेकाले पनि आम मतदाता समक्ष त्यती परिचित छैनन।जिल्लाको राजनीतिक वस्तुस्थितिलाई विश्लेषण गर्दा नेकपा एमालेमा जस्तै नेपाली काग्रेसमा पनि इतर पक्षिय धार अर्थात शेरबहादुर देउवा पक्षको प्रभुत्व रहेकोमा त्यसका विपरित लुइटेलले टिकटमा बाजी मारेका थिए।जिल्ला राजनितिमा लामो समयदेखि पकड जमाउदै आएका रामहरि खतिवडा, प्रदिप सुनुवार जस्ता नेताले टिकड पाउने अड्कल काटेका ओखलढुंगेली काँग्रेसलाई लुइटेलका नाममा मत माग्न समेत गार्‍हो भएको बताइन्छ।राजनीतिक प्रभाव क्षेत्रका आधारमा थापा र लुइटेलको आधार प्रभाव क्षेत्र एउटै पर्ने हुँदा मत विभाजनको फाइदा नेपाली कम्युनिष्ट पार्टीले उठाउने देखिन्छ।

नेपाली कम्युनिष्ट पार्टीः

नेपाली कम्युनिष्ट पार्टीले यस जिल्लामा नेकपा एमालेका तर्फबाट भौतिक पूर्वाधार मन्त्रि समेत भइसकेका तत्कालिन नेकपा एमालेका प्रभावशाली नेता अमिरबावु गुरुङ्गलाई उमेदवार बनाएको छ। जिल्लामा एक विकासप्रेमी नेताका रूपमा चिनिएका गुरूङ्ग नेकपा एमालेका प्रभावशाली नेता थिए। पार्टी जिल्ला समितिको निर्णय विपरित केन्द्रले अस्मिता थापालाई टिकट दिएपछि आम कार्यकर्ताको सल्लाहमा जिल्ला समितिलाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित गरी नेपाली कम्युनिष्ट पार्टीबाट उमेदवार समेत बनेका गुरूङ्गलाई एमाले, काँग्रेसको पनि समर्थन र सहयोग देखिन्छ।प्रदेशमा भौतिक पूर्वाधार मन्त्री हुँदा जिल्लामा प्रसस्त वजेट विनियोजन गरेका गुरूङ्गलाई दल हेरेर होइन, विकासका लागि मत दिनुपर्ने आम मतदाताको भनाइ छ।पुर्व नेकपा माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरूको एकिकरण र समायोजनमा बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमाले ओखलढुंगाको समायोजन र जनता समाजवादी पार्टीको साथ र सहयोगका कारण बलियो जनाधार देखिन्छ।अन्य राजनीतिक दलको लोकप्रियता दिनानुदिन खस्किदै गइरहेको अवस्थामा अब ओखलढुंगालाई वाचा होइन, काम चाहिएको छ।नारा होइन, नतिजा चाहिएको छ भन्दै जेन- जीहरूको व्यापक समर्थनका कारण गुरूङ्ग जित नजिक रहेको देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीः

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट घण्टी चुनाव चिन्ह लिएर पूर्व प्रहरी प्रमुख विश्व राज पोखरेल चुनावी मैदानमा उत्रिएका छन।आफुले चुनाव जितेमा गृह मन्त्रि बन्‍ने दावी गर्दै आएका पोखरेलको जनाधार भनेको काँग्रेस र एमाले नै हुन। नेपाली काँग्रेसको समर्थनमा प्रहरीको उच्च पदमा पुगेका पोखरेल नेपाली काँग्रेसले प्रहरी महानिरीक्षक नबनाएको आरोप लगाउदै रास्वपामा प्रवेश गरेका थिए।प्रहरी नायब महानिरीक्षक हुँदा देश र ओखलढुंगाका लागि केही पनि नगरेको अवसरवादी नेता भन्‍ने आरोप लाग्ने गरेको छ।राष्ट्रिय राजनितिमा रास्वपामा देखिएको समर्थनका कारण केही मत ल्याउने देखिए तापनि जीतका लागि भने प्रर्याप्त हुने छैन जसको फाइदा नेपाली कम्युनिष्ट पार्टीका अमिरबावु गुरूङ्गले उठाउने छन।

श्रम सँस्कृति पार्टीः

श्रम सँस्कृति पार्टीले ओखलढुंगामा डा. उद्धव कुमार राईलाई उमेदवार बनाएको छ। राईहरूको उल्लेख्य बाहुल्यता भएको जिल्ला भएकोले उनले केही जातीय मतदाताहरूलाई आकर्षित गर्न सक्ने देखिन्छ। पार्टीगत हिसावले खासै प्रभाव पर्न नसकेको यस जिल्लामा जातीगत प्रभावका कारण यस पार्टीमा मत रूपान्तरण हुँदा यसको प्रत्यक्ष असर नेपाली काँग्रेस र एमालेलाई पर्ने देखिन्छ भने यसको फाइदा नेपाली कम्युनिष्ट पार्टीले नै उठाउने छ।

अन्य राजनीतिक दल र स्वतन्त्र उमेदवारहरूः

ओखलढुंगा जिल्लामा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीबीच नै चुनावी प्रतिस्पर्धा हुने र अन्य दल तथा उमेदवारहरूको खासै प्रभाव देखिदैन।सँख्यात्मक आधारमा केही मत ल्याउने अन्य दल र स्वतन्त्र उमेदवारहरूले जमानत समेत फिर्ता गर्न सक्ने अवस्था देखिदैन।

निर्वाचन परिणामको अन्तिम विश्‍लेषणः

ओखलढुंगा जिल्लाको अहिलेसम्मको मतदाताको रूझानलाई विश्‍लेषण गर्दा नेपाली काँग्रेस र एमालेले जिल्लामा भिजेका र लोकप्रिय नेतालाई टिकट नदिनु, टिकट लिएका नेता वौद्धिक भए पनि जिल्लामा राम्रो पहिचान र छाप बनाउन नसक्नु, रास्वपा, श्रम साँस्कृतिक पार्टी लगायतका दलको भोट बैंक नेपाली काँग्रेस र एमाले नै हुनु, नेकपा एमालेको जिल्ला समिति, गाउँ समिति नै नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनु, नेपाली काँग्रेस, एमाले, रास्वपाबाट जनजाती उमेदवार दिन नसक्नुका कारण यस पटक आम मतदाताको रूझान नेपाली कम्युनिष्ट पार्टी तर्फ झुकेको देखिन्छ।यस कारण ओखलढुंगामा मात्र होइन, कोशी प्रदेशमा नै विकासवादी नेताको पहिचान बनाएका अमिरबावु गुरूङ्गलाई भावी संघीय सरकारको मन्त्रिका रूपमा पनि हेरिएको छ।वर्तमानमा ओखलढुंगा जिल्लाबाट निर्वाचित भएर संघीय मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्न सक्ने संभावित उमेदवार समेत भएकाले यस पटक ओखलढुंगाको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीका उमेदवार अमिरबावु गुरूङ्गको पोल्टामा पर्ने बलियो संभावना देखिएको छ। (वसन्त शर्मा, स्वतन्त्र वाम विश्‍लेषक हुन्)

वि.सं.२०८२ फागुन ८ शुक्रवार १२:३५ मा प्रकाशित

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...