back
CTIZAN AD

आजदेखि संसद् अधिवेशन

वि.सं.२०८२ चैत १९ बिहीवार

525 

shares

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो ।

संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

आजको बैठकमा तीन अध्यादेश पेस हुँदैछन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य÷सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउनुहुनेछ ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिनुभयो । सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नुहुनेछ ।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

वि.सं.२०८२ चैत १९ बिहीवार ०७:४९ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...