back
CTIZAN AD

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

वि.सं.२०८२ चैत २४ मंगलवार

432 

shares

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ ।

सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । विगतमा सेवा अवरोध, ढिलो प्रतिक्रिया, अनावश्यक प्रक्रियागत झन्झट र ग्राहकको गुनासो समाधानमा ढिलाइजस्ता समस्या बारम्बार उठ्दै आएका थिए । यिनै समस्यालाई सम्बोधन गर्न अहिले मन्त्रालय र कम्पनी दुवैले समन्वयात्मक ढंगले काम गरिरहेका छन् ।

नेपाल टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए । अब यो प्रणाली अन्त्य गरिएको छ । यसको सट्टा ग्राहकले थप पारदर्शी र आफैँ छान्न सक्ने विकल्पसहितको सेवा पाउनेछन् । अब ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ । जसले बाँकी डाटा कति छ भन्ने जानकारी समयमै दिन्छ । यससँगै ‘पे–एज–यू–गो’ (पिएवाईजी) अर्थात् डाटा प्याकेजबिनै इन्टरनेट चलाउने र रकम काट्ने विकल्प उपलब्ध गराइएको छ । जसले ग्राहकलाई प्याकेजबिना पनि आवश्यकताअनुसार इन्टरनेट प्रयोग गर्नसक्ने सुविधा दिन्छ । साथै, ग्राहकले नयाँ प्याकेज लिने वा सिधै पिएवाइजी मोडमा जाने भन्ने निर्णय आफैँ गर्न सक्नेछन् ।

नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको र केही दिनभित्रै पूर्ण रूपमा लागू हुनेछ । उनका अनुसार ‘युएसएसडि’मार्फत खरिद गरिने डाटा प्याकमा यो सुविधा तीनदेखि पाँच दिनभित्र लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि सातदेखि १० दिनभित्र कार्यान्वयनमा आउनेछ । यसले डिजिटल माध्यममार्फत सेवा प्रयोग गर्ने ग्राहकहरूलाई अझ सहज अनुभव दिने विश्वास लिइएको छ ।

नेपाल टेलिकमका ग्राहक सेवा प्रक्रियालाई सरल र प्रभावकारी बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू गर्न पनि सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिएका छन् । यसबाट ग्राहकले एकपटक मात्र आफ्नो विवरण बुझाएपछि भविष्यमा फेरि त्यही विवरण पेस गर्नुपर्ने झन्झट अन्त्य हुने जनाइएको छ । अहिले सिम कार्ड लिन, नवीकरण गर्न वा अन्य सेवा लिन जाँदा बारम्बार कागजात पेस गर्नुपर्ने समस्या थियो । जसले ग्राहकलाई हैरानी दिँदै आएको थियो । नयाँ प्रणाली लागू भएपछि सेवा प्राप्ति प्रक्रिया छिटो, सरल र झन्झटरहित हुने अपेक्षा गरिएको छ । यो प्रणाली आगामी ३० दिनभित्र कार्यान्वयनमा ल्याइसक्ने लक्ष्य राखिएको छ ।

डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरू पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी पनि तीव्र बनाएको छ । ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू अब घरमै बसेर अनलाइन माध्यमबाट लिन सकिनेछ । यसले विशेषगरी दुर्गम क्षेत्रका ग्राहकलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ । साथै कार्यालयमा हुने भीड घटाउने र सेवा वितरणलाई थप व्यवस्थित बनाउने ठानिएको छ ।

ग्राहक सेवा सुधारकै अर्को महत्वपूर्ण पक्षका रूपमा ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गर्ने योजना अघि सारिएको छ । मन्त्रालयको कार्ययोजनाअनुसार नेपाल टेलिकमका सबै कार्यालयमा यस्तो सहायता कक्ष स्थापना गरिनेछ र ग्राहकले एकै ठाउँबाट आफ्ना सबै समस्याको समाधान पाउनेछन् । यसले विभिन्न काउन्टर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने र सेवा प्राप्तिको समय घटाउने अपेक्षा गरिएको छ ।

यससँगै, फोरजी मोबाइल नेटवर्क सेवाको गुणस्तर सुधार गर्ने काम पनि भइरहेको छ । हाल देशका विभिन्न स्थानमा फोरजी सेवा कमजोर रहेको गुनासो व्यापक रूपमा उठ्दै आएको छ । यस समस्यालाई समाधान गर्न नीतिगत व्यवस्था परिमार्जन गर्ने र थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । आगामी ३० दिनभित्र आवश्यक नीतिगत सुधार सम्पन्न गरी सेवा गुणस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको छ ।

वि.सं.२०८२ चैत २४ मंगलवार ११:४५ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...