कमलामाई (सिन्धुली) । केही वर्षअघिसम्म गाउँघरका अधिकांश भान्सामा आफ्नै करेसाबारीमा फलाइएका ताजा सागसब्जी पाक्थे तर अहिले अवस्था फेरिएको छ । भान्सामा भित्रिने अधिकांश तरकारी बजारबाट आउँछन्, जहाँ उत्पादन बढाउने होडमा रासायनिक मलखाद र कीटनाशक औषधिको अत्यधिक प्रयोग भइरहेको छ ।
विषादीयुक्त सागसब्जी हाम्रो दैनिक भोजनसँगै शरीरभित्र पुगिरहेको छ । चिकित्सकहरूका अनुसार पछिल्ला वर्षहरूमा बढ्दै गएका क्यान्सर, मिर्गौला, मुटु तथा अन्य जटिल रोगका कारणमध्ये अस्वस्थ खानपान पनि एक हो । उत्पादन धेरै गर्ने नाममा खेतबारीमा हालिने रसायनले माटो मात्र होइन, मानव स्वास्थ्यलाई समेत विस्तारै कमजोर बनाइरहेको छ । यही अवस्थाले धेरै परिवारलाई फेरि करेसाबारीतर्फ फर्किन बाध्य बनाएको छ ।
घरछेउको सानो खाली ठाउँमा जैविक मल प्रयोग गरी आफ्नै लागि सुरक्षित सागसब्जी उत्पादन गर्ने अभियान बिस्तारै बढ्न थालेको छ । स्वास्थ्य जोगाउने, खर्च घटाउने र परिवारलाई विषादीरहित खाना खुवाउने उद्देश्यले अहिले धेरैले करेसाबारीलाई पुनः जीवन्त बनाउन थालेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–४ ज्यामिरेकी गहिणी विष्णुमाया तामाङको सुधारिएको करेसाबारी यतिबेला हरियाली मात्रै छैन, बेमौसमी लौका, काँक्रो, घिरौँला र करेलाको फलले लटरम्मै छ ।
आफ्नै मिहिनेतको फल देख्दा उनकोे मुहारमा छुट्टै चमक देखिन्छ । “पहिला बजारको तरकारी किनेर खान्थेँ, अहिले आफैँले उब्जाएको तरकारी बेचेर घर खर्च धानिरहेकी छु,” उनले मुस्कुराउँदै भनिन् । पाँच वर्षअघिसम्म उहाँसँग आम्दानीको स्थायी स्रोत थिएन । घरखर्च धान्नै कठिन थियो तर अहिले दुई कट्ठा जमिनमा गरिएको जैविक तरकारी खेती उनकोे परिवारको मुख्य आयस्रोत बनेको छ ।
मौसमीभन्दा बेमौसमी तरकारीको मूल्य राम्रो पाइने भएकाले उनले टनेलमार्फत उत्पादन बढाएकी छिन् । “गत वर्ष दुई सय वटा लौका बेचेकी थिएँ, अहिले पाँच सयभन्दा बढी फलेको छ,” उनले सुनाईन् । अहिले उनले हप्तामै बेमौसमी तरकारी बेचेर १५ हजार रुपैयाँभन्दा बढी आम्दानी लिन्छिन् ।
विष्णुमायाको सफलता केवल आम्दानीमा सीमित छैन । उहाँको करेसाबारीले गाउँको संस्कारसमेत बदलिदिएको छ । पहिले आफन्त कहाँ जाँदा बजारबाट कोसेली किनेर लैजानुपथ्र्यो । अहिले आफ्नै बारीका लौका, काँक्रो, करेलालगायतका थरीथरीका तरकारीले नै कोसेलीको ठाउँ लिएका छन् । जैविक खेतीले उनलाई रासायनिक मल र विषादीको खर्चबाट मुक्त बनाएको छ । गँड्यौले मल, झोल मल र जैविक विषादी आफैँ बनाउने गर्नुभएको छ । “यसले जमिन पनि स्वस्थ हुन्छ, उत्पादन पनि स्वादिलो र स्वस्थकर हुन्छ,” उनको अनुभव छ ।
यता कमलामाई नगरपालिका–५ आहालेमा पुग्दा गाउँ आफैँ एउटा सिकाइ केन्द्रजस्तो देखिन्छ । घर–घरमा हरियाली छ । करेसाबारीमा सागसब्जी लहलहाएका छन् । गोठमा भैँसी छन् । गोबरबाट बायोग्यास बनेको छ । जुठेल्नोको पानीसमेत करेसाबारीमा प्रयोग गरिएको छ । यही गाउँकी इन्द्रक्रान्ति तामाङ अहिले समुदायकी प्रेरणादायी महिला बनेकी छिन् । इन्द्रक्रान्तिले पाँच कट्ठामा कृषि वन विस्तार गर्नुभएको छ । अम्रिसो, किम्बु र मेन्दोलाजस्ता पोषिलो घाँसले पशुपालन सहज बनाएको छ । “पहिले घाँस काट्न जङ्गल धाउनुपथ्र्यो, अहिले आफ्नै बारीको घाँसले पुग्छ,” उनले भनिन् ।
आहालेमा अहिले प्रायः हरेक घरमा सुधारिएको करेसाबारी छ । कतिपयले टनेलमा व्यावसायिक तरकारी उत्पादन गरिरहेका छन् । रासायनिक मल र विषादीको प्रयोग घटेको छ । महिलाहरूले झोल मल, गँड्यौला मल, इएम टू मल बनाउने सीप सिकेका छन् । परिवर्तन केवल कृषिमा मात्र छैन, जीवनशैलीमा पनि छ । पहिले महिलाहरू घरभित्र सीमित थिए । अहिले उनीहरू समूहमा छलफल गर्छन्, बजारमा आफूले उपभोग गरेर बचेको उत्पादन बेच्न जान्छन् र नेतृत्वदायी भूमिकामा अग्रसर हुन थालेका छन् । इन्द्रक्रान्ति भन्नुहुन्छ, “पहिले सानो खर्चका लागि पनि श्रीमान्सँग पैसा माग्नुपथ्र्यो, अहिले तरकारी बेचेर आफ्नै आम्दानी हुन्छ, बचत पनि गर्न थालेकी छु ।”
कमलामाई नगरपालिका–२ सालुबेशीकी जीतमाया बम्जनको भान्सामा अहिले सातदेखि नौ प्रकारका तरकारीले भरिन्छ । केही वर्षअघिसम्म उनकोे दैनिकी घरधन्दा र मेलापातमा सीमित थियो तर अहिले उनी तरकारी खेतीदेखि पशुपालनसम्ममा सक्रिय छिन् । छाप्रो टनेलमा झुन्डिएका काँक्राहरू देखाउँदै उनले भनिन्, “फल्न थालेपछि खुसीले करेसाबारीमै नाच्न मन लाग्छ ।” उनले बेमौसमी काँक्रो, गोलभेँडा, स्कुस, साग, क्याप्सिकन र खुर्सानी उत्पादन गरेका छन् । घरमा खपत भएर बाँकी रहेको तरकारी बेचेर मासिक रु १५ हजारसम्म आम्दानी गर्न सफल भएको उनले बताए ।
उनीजस्तै जिरीमाया लामा पनि परिवर्तनको अर्को उदाहरण छिन । एक कट्ठा जमिनमा व्यवस्थित करेसाबारी बनाएकी उनले अतिरिक्त तरकारी बेचेर मासिक रु १२ हजारसम्म आम्दानी गर्ने गरेकी छिन् । उनलार्ई पहिला आफ्नै भान्सा टार्न समस्या हुने गरेको थियो । कविता स्याङ्तान करेसाबारीबाट सुरु भएको तरकारी खेतीले आर्थिक सशक्तीकरणसँगै महिलाहरूको आत्मविश्वास पनि बढेको बताउँछिन् । “पहिले सानो खर्चका लागि पनि श्रीमान्सँग हात फैलाउनुपथ्र्यो,” उनले भनिन्, “अहिले आफ्नै पैसा हुन्छ ।”
त्यसैगरी, कमलामाई नगरपालिका–५ सिलामेकी सुनिता श्रेष्ठको जीवन पनि करेसाबारीले नै बदलिदिएको छ । केही वर्षअघिसम्म उहाँ सामान्य गृहिणी थिइन् । आफ्नै आम्दानी थिएन तर अहिले उहाँ जैविक तरकारी उत्पादन गरेर मासिक रु १० हजारसम्म आम्दानी गर्छिन् । “पहिला तरकारी किनेर खानुपथ्र्यो, अहिले आफ्नै बारीको विषादीरहित तरकारी खान पाइन्छ,” उनले भनिन् ।
सुनिताले चम्सुर, पालुङ्गो, मेथी, बेथु, बोडी, घिरौँला, लौका, गोलभेँडालगायतका तरकारी उत्पादन गर्छिन् । शनिबारे हाटमा तरकारी बेच्न जानुहुन्छ । सामाजिक सञ्जालमार्फत पनि उत्पादनको प्रचार गर्छिन् । “पहिलोपटक साग बेचेर रु एक हजार ६०० आम्दानी भएको थियो,” उनले सुनाईन्, “त्यसपछि उत्साह झन् बढ्यो ।”
आफ्नै कमाईले घरखर्च चलाउन, बालबच्चाको आवश्यकता पूरा गर्न र बचत गर्न सक्दा उनकोे आत्मविश्वास पनि बढेको छ । “पहिले एउटा टिका र चुरा किन्न पनि श्रीमान्सँग पैसा माग्नुपथ्र्यो,” उनले भनिन्, “अहिले आफ्नै कमाईले खर्च चलाएर बचत गर्न सकेकी छु ।”
आहालेकी उर्मिला नेपालीको बिहान अहिले गाईको गोठबाट सुरु हुन्छ । उन्नत जातका जर्सी गाईपालन गरेकी उनले दैनिक ३५ लिटर दूध बिक्री गर्छिन् । दूध बेचेरै मासिक करिब रु ३५ हजार बचत हुने गरेको छ । त्यतिमात्र होइन, दुई कट्ठा जमिनमा गरिएको व्यावसायिक तरकारी खेतीबाट उनले मासिक रु २० हजारसम्म आम्दानी गर्छिन् । “पहिले घरायसी खर्च धान्नै धौधौ थियो,” उनले विगत सम्झिँदै भनिन्, “अहिले यही आम्दानीले छोरीलाई पोखरामा डाक्टर पढाइरहेका छौँ, छोरालाई जापान पठाएका छौँ ।”
उनकोे बारीमा पोषणयुक्त घाँस छ । यसले पशुचौपाय पालनमा सहजता थपेको उनले बताईन् । “पहिले जङ्गल धाउनुपथ्र्यो, अहिले आफ्नै बारीको घाँसले बाह्रै महिना पुग्छ,” उनले भनिन् । पशुपालन गर्दा तरकारी खेतीमा मलखादमा सहयोग पुगेको उनले सुनाईन् ।
यी कथाहरू फरक–फरक व्यक्तिका भए पनि परिवर्तनको सूत्र एउटै छ—सीप, साझेदारी र सामूहिक अभ्यास । वल्र्ड नेवर्सको साझेदारीमा सिड्स नेपाल, सिन्धुलीले सञ्चालन गरेको नेपाल एकीकृत ग्रामीण विकास परियोजनाले ग्रामीण महिलाहरूलाई केवल कृषि तालिम मात्र दिएन, आत्मविश्वास र नेतृत्व पनि दियो । घरभित्र सीमित महिलाहरू अहिले बजार पुगेर उत्पादन बेचिरहेका छन्, समूह सञ्चालन गरिरहेका छन्, बचत गरिरहेका छन् र अरूलाई पनि तालिम दिन थालेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ को सालुबेंशी, वडा नं ४ को ज्यामिरे, वडा नं ५ को आहाले र सिलामेमा मात्रै एक सयभन्दा बढी घरपरिवारले सुधारिएको करेसाबारी बनाएका छन् । उक्त करेसाबारीले विशेषगरी ग्रामीण गृहिणीलाई स्वरोजगार मात्रै होइन, आत्मनिर्भर समेत बनाएको पाइन्छ । करेसाबारी अब केवल तरकारी उत्पादन गर्ने ठाउँ मात्र रहेन । यो आत्मनिर्भरता, पोषण, बचत, नेतृत्व र सम्मानसँग जोडिएको छ । यी महिलाहरूको अनुभवले देखाएको छ—विदेश जानैपर्छ, जागिर खानैपर्छ भन्ने छैन । सही सीप, प्राविधिक सहयोग र मिहिनेत भए गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ ।
वि.सं.२०८३ वैशाख २८ सोमवार १४:२६ मा प्रकाशित




























