back
CTIZAN AD

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

वि.सं.२०८३ असार १२ शुक्रवार

159 

shares

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा उक्त योजना समावेश गर्दै यसबाट छोरीहरूको उच्च शिक्षामा पहुँच बढ्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकावासीले शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा तथा व्यापार–व्यवसायका लागि जिल्ला सदरमुकाम जनकपुरधाम आउजाउ गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै धनौजीदेखि जनकपुरधामसम्म न्यून शुल्कमा बस सेवा सञ्चालन गर्ने भएको छ ।

स्थानीयवासीलाई सुलभ यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले धनौजीदेखि जनकपुरधामसम्म न्यून शुल्कमा बस सेवा सञ्चालन गर्दा स्थानीय नागरिकको दैनिक आवागमनलाई सहज बनाउने लक्ष्य लिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार साहले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै न्यून शुल्कमा नियमित बस सेवा सञ्चालन गरी स्थानीय नागरिकको यातायात खर्च कम गर्ने र सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको बताए ।

धनौजी गाउँपालिका धनुषाको दक्षिणी क्षेत्रमा अवस्थित स्थानीय तह हो । यहाँका बासिन्दा विभिन्न कामका लागि दैनिक रूपमा जनकपुरधाम आउजाउ गर्दै आएका छन् ।

निजी सवारीसाधनको अभाव तथा सार्वजनिक यातायातको अनियमितताका कारण स्थानीय नागरिकले सास्ती भोग्दै आएकाले गाउँपालिकाले आफ्नै पहलमा बस सेवा सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले बताए ।

यस्तै गाउँपालिकाले स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पाँच वर्षभित्र धनौजी गाउँपालिकालाई पूर्ण पोषणयुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।

कुपोषण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार र पोषणसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर नियमित आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । स्वास्थ्यकर्मीमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने र घरबाट जिल्ला अस्पतालसम्म उपचारका लागि लैजान निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराइने तथा उहाँहरूको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था समेत मिलाइने प्रमुख प्रशासकीय अधिकृत दासले बताए ।

कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले ‘एक गाउँ अनेक उद्यान’ कार्यक्रम सञ्चालन गरिने भएको छ । यस कार्यक्रममार्फत गाउँका विभिन्न क्षेत्रमा फलफूल तथा अन्य कृषि बालीका उद्यान विकास गरिनेछ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आयआर्जन बढाउने लक्ष्यसहित किसानलाई विभिन्न प्रकारका अनुदान कार्यक्रम पनि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दासका अनुसार कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, पोषण सुधार, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई आगामी वर्षको बजेट तथा कार्यक्रमको केन्द्रमा राखिएको छ । स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको उनले बताए ।

धनौजी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्ताव गरेको छ । गाउँसभामा प्रस्तुत बजेटअनुसार चालुतर्फ रु ३५ करोड १० लाख ५७ हजार तथा पुँजीगततर्फ रु २५ करोड ५५ लाख विनियोजन गरिएको छ ।

गाउँपालिका अध्यक्ष साहले प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सडक तथा पूर्वाधार विकास, खानेपानी, सरसफाइ र संस्थागत सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । बजेट तथा कार्यक्रम कार्यान्वयनबाट स्थानीय नागरिकको जीवनस्तर सुधार हुनुका साथै गाउँपालिकाको समग्र सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०८३ असार १२ शुक्रवार ११:५५ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...