काठमाडौं । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर्मचारी विरोधमा उत्रिएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आजपनि काम बन्द गरेर सिंहदरबारभित्र विरोधमा उत्रिएका हुन् ।
सरकारको निर्णयले संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट बहिर्गमन हुने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।
अहिले संघ सरकार मातहत करिब १४ हजार, प्रदेश मातहतमा ८ हजार र स्थानीय तह मातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।
आन्दोलनरत एक कर्मचारीका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा यही प्रकृतिका कर्मचारीहरूको पनि गणना गर्दा सरकारको यो निर्णयले करिब २ लाख जनाले जागिर गुमाउने अवस्था छ ।
नयाँ आर्थिक वर्ष (साउन १ गतेदेखि) उनीहरूलाई हटाउने सरकारको तयारी छ । उनीहरूलाई हटाएर ‘आउटसोर्सिङ’बाट कर्मचारी पूर्ति गर्ने गरी सरकारी गृहकार्य छ ।
वि.सं.२०८३ असार ३१ बुधवार १३:३७ मा प्रकाशित

























