काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त हुनुभएका सुमन आचार्यले बिहीबार (२०८३ श्रावण १ गते) देखि औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियुक्त हुनुभएका आचार्यले बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ। उहाँले विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा रहेर नेतृत्वदायी जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।
बैंकले आचार्यको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासनको प्रवर्द्धन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
पदभार ग्रहणपछि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यले बैंकको दीर्घकालीन लक्ष्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सम्पूर्ण सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले लुम्बिनी विकास बैंकलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
यस अवसरमा लुम्बिनी विकास बैंकले आचार्यको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा बैंकले अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
हाल लुम्बिनी विकास बैंकले देशका सातै प्रदेशमा आफ्नो सेवा विस्तार गर्दै ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा गुणस्तरीय बैंकिङ सेवा ग्राहकसम्म पुर्याउँदै आएको जनाएको छ।
वि.सं.२०८३ साउन ४ सोमवार १०:५८ मा प्रकाशित






























