काठमाडौं, । धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताले समयमै डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नतिरे खाता रोक्का हुन सक्ने भएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सूचना जारी गर्दै शुल्क नबुझाएका खातामा साउन १६ गतेदेखि रोक्का लगाइने जनाएको छ।
सीडीएससीका अनुसार धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ बमोजिम हितग्राही खाताको वार्षिक सञ्चालन शुल्क प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र बुझाउनुपर्ने व्यवस्था छ। तर, शुल्क बुझाउन छुटेका लगानीकर्ताको सुविधालाई ध्यानमा राख्दै २०८३ साउन १५ गतेसम्म ुमेरो शेयरु सेवा सञ्चालन गर्न दिइने निर्णय गरिएको छ।
सीडीएससीले तोकिएको समयभित्र पनि वार्षिक शुल्क नबुझाएका हितग्राही खाताहरू २०८३ साउन १६ गतेदेखि रोक्का राखिने जनाएको छ।
खाता रोक्का भएपछि लगानीकर्ताले शेयर खरिद–बिक्री, हस्तान्तरण तथा डिम्याट खातासँग सम्बन्धित विभिन्न सेवा लिन असुविधा हुन सक्ने भएकाले समयमै सम्बन्धित निक्षेप सदस्य (डीपी) मार्फत वार्षिक शुल्क बुझाउन सीडीएससीले आग्रह गरेको छ।
सीडीएससीका वरिष्ठ अधिकृत देवराज रिजालद्वारा जारी सूचनामा सम्पूर्ण निक्षेप सदस्यलाई वार्षिक शुल्क नबुझाएका हितग्राही खाताबारे आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
धितोपत्र बजारमा सक्रिय लगानीकर्ताले आफ्नो डिम्याट खाताको स्थिति तथा वार्षिक शुल्क बुझाए /नबुझाएको विवरण सम्बन्धित डीपी वा मेरो शेयर सेवामार्फत पनि जाँच गर्न सक्नेछन्।
वि.सं.२०८३ साउन ६ बुधवार १२:२८ मा प्रकाशित




























