काठमाडौं । लायन्स इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत डिस्ट्रिक्ट ३२५–आईमा आबद्ध लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्ध ले नयाँ कार्यसमितिको पदस्थापन, वार्षिक कार्ययोजना सार्वजनिक तथा वार्षिक क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ।
क्लबले लायन वर्ष २०२६र२७ का लागि हरि प्रसाद तिवारीको अध्यक्षतामा ३० भन्दा बढी सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा खुमकान्त चापागाई, द्वितीय उपाध्यक्षमा विनोद खनाल, तृतीय उपाध्यक्षमा कल्पना शेरचन, सचिवमा कृष्ण रानाभाट तथा कोषाध्यक्षमा पुरुषोत्तम अधिकारी चयन भएका छन्।
कार्यक्रममा क्लबले लायन्स इन्टरनेशनलको ‘खुसीयाली बाँडौ’ तथा डिस्ट्रिक्ट ३२५–आईले अघि सारेको ‘बाँडेर सेवा गरौ’ अभियानलाई केन्द्रमा राखेर वर्षभर सञ्चालन गरिने सामाजिक तथा सेवामूलक कार्यक्रम सार्वजनिक गरेको छ।
क्लबका अनुसार लायन वर्षको सुरुवातसँगै कीर्तिपुर नगरपालिका–४ भगवानस्थानमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। त्यस्तै, जलनपीडित तथा आर्थिक रूपमा विपन्न बालक प्रयास कार्कीको उपचार र शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरिएको जनाइएको छ।
यसैगरी चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत २०० भन्दा बढी स्थानीय नागरिकको आँखा तथा दन्त परीक्षण, स्वास्थ्य परामर्श, चस्मा, दन्तमञ्जन र ब्रस वितरण गरिएको क्लबले जनाएको छ। निकट भविष्यमा बनेपा–१२ साँगामा वृक्षारोपण तथा मन्दिर सरसफाइ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
क्लबका अध्यक्ष हरि प्रसाद तिवारीले आगामी कार्यकालमा सदस्य विस्तारलाई प्राथमिकता दिँदै हालसम्म ६ जना नयाँ सदस्य आबद्ध भइसकेको र थप सदस्य वृद्धि अभियानलाई तीव्र बनाइने जानकारी दिए। साथै दुईवटा नयाँ लायन्स क्लब गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको पनि उनले बताए।
वार्षिक कार्ययोजनाअनुसार नयाँ सदस्य अभिमुखीकरण, नेतृत्व विकास, सदस्य शिक्षा, युवा तथा महिलाको सहभागिता विस्तार, लियो क्लब सुदृढीकरण, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, बाल स्वास्थ्य तथा क्यान्सर सहयोग, जाडोमा न्यानो कपडा वितरण, दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरणलगायतका कार्यक्रम सञ्चालन गरिनेछन्।
अध्यक्ष तिवारीले सबै कार्यक्रम सफल बनाउन सदस्यहरूको सक्रिय सहभागिता, विभिन्न संस्थासँगको सहकार्य तथा शुभेच्छुकहरूको सहयोगलाई प्रभावकारी रूपमा परिचालन गरिने बताउँदै सेवामूलक अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरे।
कार्यक्रममा सहभागी लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५–आईका पदाधिकारी तथा अतिथिहरूले क्लबले सार्वजनिक गरेको वार्षिक कार्ययोजना समाजमुखी, व्यावहारिक र परिणाममुखी रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै आगामी दिनमा लाय न्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धले सामाजिक सेवा, मानवीय सहायता, स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।
वि.सं.२०८३ साउन ६ बुधवार १४:४९ मा प्रकाशित






























