पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट आन्दोलन, पुष्पलालको योगदान र बहुवर्गीय निर्वाचन प्रणालीबारे व्यापक छलफल भएको छ। मार्क्सवादी अध्ययन स्रोत केन्द्र, पोखराको आयोजनामा सम्पन्न ‘पुष्पलाल र आजको नेपाली कम्युनिस्ट आन्दोलन’ विषयक गोष्ठीमा चर्चित वामपन्थी नेता गोपाल किराँतीले ‘बहुदलीय निर्वाचन प्रणालीभित्र बहुवर्गीय निर्वाचन प्रणालीको विकास’ सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका हुन्।
कार्यक्रममा बोल्दै किराँतीले नेपालमा मार्क्सवादी विचारधाराको प्रचार–प्रसार, जनवादी क्रान्तिको कार्यदिशा निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा तथा किसान आन्दोलनको विकासमा पुष्पलालको योगदान ऐतिहासिक रहेको बताए। विषम परिस्थितिमा पनि पुष्पलालले क्रान्तिकारी विचार, सिद्धान्त र झण्डा नत्यागेको उल्लेख गर्दै उनले पुष्पलालप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गरे।
नेपालमा समाजवादको स्वरूप र त्यसतर्फको यात्राबारे चर्चा गर्दै किराँतीले नेपाली समाजवादी क्रान्ति दुई चरणमा सम्पन्न हुने आफ्नो धारणा राखे। पहिलो चरणमा बहुदलीय प्रतिस्पर्धालाई कायम राख्दै बहुवर्गीय निर्वाचन प्रणाली विकास गर्नुपर्ने उनको प्रस्ताव थियो।
उनका अनुसार प्रतिनिधिसभामा मजदुर, किसान र पुँजीपति वर्गको जनसंख्याका आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्नेछ। उनले जुनसुकै राजनीतिक दलबाट निर्वाचित भए पनि संसद्मा २० प्रतिशत मजदुर, ६५ प्रतिशत किसान र १५ प्रतिशत पुँजीपति वर्गका प्रतिनिधि रहने गरी निर्वाचन प्रणाली विकास गर्नुपर्ने अवधारणा प्रस्तुत गरे।
किराँतीले प्रस्तुत गरेको दुई पृष्ठे अवधारणापत्रमाथि सहभागी बुद्धिजीवीहरूले टिप्पणी, सुझाव र जिज्ञासा राखेका थिए। छलफलमा रामराज रेग्मी, नारायण परिश्रमी, लोकबहादुर थापा, परशुराम कोइराला, बिन्दु सापकोटा, नारायण अधिकारी, चुडामणि अधिकारी, भीम रानाभाट, गेहेन्द्रेश्वर कोइरालालगायतले आफ्ना धारणा राख्दै पुष्पलालको योगदानको चर्चा गरेका थिए।
स्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रारम्भमा उनले पुष्पलालको योगदान, गोपाल किराँतीको वैचारिक व्यक्तित्व तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए। केन्द्रका उपाध्यक्ष दुर्गा भण्डारीले सञ्चालन गरेको कार्यक्रममा पोखरामा क्रियाशील विभिन्न कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा अध्ययन–अनुसन्धानमा संलग्न व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले वर्तमान राजनीतिक परिवेशमा वैचारिक विमर्श क्रमशः कमजोर बन्दै गएको अवस्थामा यस्ता अन्तरक्रियाले नयाँ बहस र चिन्तनको वातावरण सिर्जना गरेको बताएका थिए।
वि.सं.२०८३ साउन ८ शुक्रवार १४:२१ मा प्रकाशित






























