back
CTIZAN AD

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

वि.सं.२०८३ साउन १० आइतवार

153 

shares

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक रूपान्तरण, सुशासन र लगानी विस्तारको अभियानमा सक्रिय साझेदार बन्न आह्वान गर्दै देश बनाउने साझा स्वार्थमा एक भएर हातेमालो गर्न आग्रह गरेका छन्।

अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले शनिबार आयोजना गरेको भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने मान्यतामा कुनै द्विविधा नरहेको स्पष्ट पार्दै प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न, वैदेशिक पुँजी भित्र्याउन र देशको समृद्धिको यात्रामा सहकार्य गर्न आह्वान गरे।

वाग्लेले नेपालमा जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न, आर्थिक विकासको ढोका फराकिलो बनाउन तथा अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउन काम गरिरहेको उल्लेख गर्दै त्यसका लागि प्रवासी नेपालीहरूको साथ र सहकार्य अपरिहार्य रहेको बताए। उनका अनुसार प्रवासी नेपालीहरू सरकारका विकास र लगानी विस्तारका महत्वपूर्ण सद्भावना दूत हुन्।

“डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्वपूर्ण ढोकाहरू खोलिएका छन्। तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध तथा विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा प्रभावकारी सहजकर्ता हो”, अर्थमन्त्री वाग्लेले भने, “सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता रूपान्तरणकारी अवधारणा अघि सारेको पनि तपाईंहरूको लगानी विस्तारका लागि हो।”

उनले बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन, बजेट वितरण तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलिएको उल्लेख गर्दै सरकारले प्रवासी नेपालीबाट नेपालमा थप लगानी भित्रिने अपेक्षा गरेको बताए। साथै, नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान आवश्यक सहजीकरण गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले सरकारले थप कस्ता नीतिगत तथा कानुनी सहजीकरण गर्नुपर्छ भन्नेबारे स्पष्ट सुझाव दिन पनि प्रवासी नेपाली समुदायलाई आग्रह गरे।

सरकारको पहिलो एक सय दिनको कार्यसम्पादनबारे चर्चा गर्दै उनले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र अर्थतन्त्रलाई पुनर्जीवित गर्ने दिशामा महत्वपूर्ण सुरुवात भएको दाबी गरे।

“सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबै उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहेका छन्। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने प्रयास पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हो”, उनले भने।

अस्ट्रेलियाको कुल जनसंख्याको करिब एक प्रतिशत नेपाली समुदाय रहेको उल्लेख गर्दै वाग्लेले प्रवासी नेपालीलाई नेपालको समृद्धिका महत्वपूर्ण साझेदारका रूपमा चित्रण गरे। उनले देश बनाउने साझा स्वार्थमा संसारभर रहेका नेपाली एकजुट भएर हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए।

वि.सं.२०८३ साउन १० आइतवार १२:०० मा प्रकाशित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...