दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६ गते तीन जनाले आत्महत्या गरेको समाचार दियो ।
त्यस दिन तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुरका ७५ वर्षीया सेतु वली, शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला ७१ वर्षीय तेजबहादुर रेउल र राजपुर गाउँपालिका–६ गंगदीका २१ वर्षीया सीता चौधरीको विष सेवनबाट आत्महत्या भएको परीक्षण रिपोर्टबाट खुलेको छ ।
तीनै जनाले दिउँसो विष सेवन गरेको भए पनि समयमै अस्पताल नपु¥याएका कारण बचाउन नसकिएको चिकित्सकको भनाइ छ । एकै दिन तीन जनाले विष सेवन गरी आत्महत्या गरेपछि प्रहरीले उनीहरुले के दबाब झेल्न परेको थियो र किन विष सेवन गरेका हुन् भन्नेबारे गहन अनुसन्धान गरिरहेको छ ।
त्यस्तै साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ की १३ वर्षीया चौधरी विष सेवन गरेर आत्महत्या गरिन । यसअघि उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन् । पछिल्लो समय दाङमा यस्ता घटना बढिरहेको पाइएको छ । त्यस्तै गत आर्थिक वर्षमा मात्रै जिल्लामा २२० वटा आत्महत्याका घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
त्यस आर्थिक वर्षमा जिल्लामा ९५७ आपराधिक घटना भएको प्रहरीले जनाएको छ । त्यसमध्ये १८२ वटा झुण्डिएर तथा ३८ वटा विष सेवन भएको थियो । त्यसमा १४५ पुरुष र ७५ जना महिलाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नेमध्ये अधिकांश विवाहित रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले आत्महत्याका घटना हुनमा गरिबी, चिन्ता, उच्च महत्त्वकांक्षा, प्रविधि प्रयोगको दुरुपयोग, अशिक्षालगायतका कारण रहेको अनुसन्धानबाट पाइएको बताए ।
पछिल्लो तीन वर्षमा मात्रै ६३९ जनाको आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । आत्महत्या गरी अकालमा ज्यान गुमाउनेमा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला छन् । त्यस्तै आगो लगाएर, हाम्फालेर र गोली हानेर आत्महत्या गरेका समेत घटना भएको पाइन्छ । जिल्लामा बढ्दो आत्महत्याका घटना न्यूनीकरणका लागि सुरक्षाकर्मीसँगै चिकित्सक र नागरिक समाजबाट समेत चिन्ता र चासो व्यक्त भएको छ ।
उच्च महत्वकांक्षा र तनावबाट डिप्रेसन भई आत्महत्याका घटना बढिरहेको बालरोग विशेषज्ञ डा किशोर खत्रीको बुझाइ छ । उनी भन्छन्, “सामूहिक प्रयासमा यस्ता घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । परिवार र समाज यसमा गम्भीर बन्नुपर्छ ।” त्यस्तै आ–आफ्ना बालबालिकालाई पर्याप्त समय दिन, समयमा उचित सल्लाह, सुझाव र मनोभावना बुझ्न उनकोे सुझाव छ ।
नेपाल पत्रकार महासङ्घका सचिव सविन प्रियाशसनले जीवनबारे नबुझ्दा, प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाकालगायतका कारण यस्ता घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकासका कार्यक्रम आवश्यक रहेको सुझाव दिए ।
प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले आत्महत्या न्यूनीकरण र निरुत्साहित गर्ने मनोसामाजिक मनोपरामर्श दिनुपर्नेमा जोड दिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख होमबहादुर पराजुलीले गरिबी, कमजोर मानसिकताका, चिन्ता, भय र उच्च महत्वकांक्षा कारण आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको बताए ।
वि.सं.२०८३ भदौ ५ शुक्रवार १२:४८ मा प्रकाशित






























