नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैंडाकोट–१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट–१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अकलामाई मन्दिर नजिकको चौरमा पूर्व–पश्चिम राजमार्गको बायाँपट्टि दुई महिला अचेत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। दुवै जनालाई उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट बरामद भएको प्रहरीले जनाएको छ। यद्यपि, मृतक दुवैको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम रिपोर्ट तथा अन्य वैज्ञानिक परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारणबारे स्पष्ट हुने प्रहरीको भनाइ छ।
वि.सं.२०८३ साउन ११ सोमवार ११:११ मा प्रकाशित





























