काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ०२:५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो। दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बी एण्ड बी अस्पताल, ग्वार्को, ललितपुर रिफर गरिएको थियो ।
दुर्घटनामा काठमाडौंको चन्द्रागिरि नगरपालिका -१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
यस्तै, स्कुटरको पछाडि सवार काठमाडौंको चन्द्रागिरि नगरपालिका(१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाललाई बिहान ०७स्०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ भने मिनी ट्रक र चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०८३ साउन ११ सोमवार ११:२४ मा प्रकाशित





























