back
CTIZAN AD

सेवोन अध्यक्षका अभिव्यक्तिबारे रविन्द्र भट्टराईको प्रश्न – ‘साना लगानीकर्तालाई किन भाइरसजस्तो चित्रण गरिँदैछ ?’

वि.सं.२०८३ साउन १८ सोमवार

120 

shares

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले नेपाल धितोपत्र बोर्ड (सेवोन) का नवनियुक्त अध्यक्षले साना लगानीकर्तासम्बन्धी सार्वजनिक रूपमा व्यक्त गर्दै आएका धारणा र अभिव्यक्तिको स्पष्ट आधार सार्वजनिक गर्नुपर्ने बताएका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत सेवोन अध्यक्षले विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा साना लगानीकर्तालाई अनपढ, विवेकहीन, बजार बिगार्ने, मूल्य अस्थिर बनाउने तथा बजारका समस्याको प्रमुख कारण वा ‘भाइरस’ का रूपमा चित्रण गरिएको जस्तो देखिएको उल्लेख गरेका छन्। उनका अनुसार यस्ता अभिव्यक्तिले सानो पुँजी भएका नागरिकलाई प्रत्यक्ष रूपमा शेयर बजारमा लगानी गर्ने अधिकार नै नभएको सन्देश गएको आभास गराएको छ।

उनले सेवोन अध्यक्षले बारम्बार साना लगानीकर्ताले बजार घटेपछि आन्दोलन गर्ने वा बोर्ड घेराउ गर्न आउने गरेको टिप्पणी गर्ने गरेको उल्लेख गर्दै त्यसको आधारबारे प्रश्न उठाएका छन्। ‘यो निष्कर्ष बोर्डमा आउने व्यक्तिहरूको शेयर होल्डिङ अध्ययन गरेर निकालिएको हो, वा कुनै अनुसन्धान तथा तथ्यांकका आधारमा भनिएको हो ? यदि त्यसको तथ्यगत आधार छ भने सार्वजनिक गरिनुपर्छ,’ भट्टराईले बताएका छन्।

भट्टराईका अनुसार अध्यक्षका अभिव्यक्तिबाट साना पुँजी भएका लगानीकर्ताले प्रत्यक्ष शेयर खरिद गर्नु उपयुक्त नभई केवल म्युचुअल फण्डमार्फत मात्र लगानी गर्नुपर्ने जस्तो धारणा प्रस्तुत भएको देखिन्छ। तर, म्युचुअल फण्ड पनि बजारकै उतारचढावमा आधारित लगानी साधन भएकाले त्यसमा पनि जोखिम रहने र त्यसले कुनै पनि अवस्थामा नाफाको ग्यारेन्टी नगर्ने उनले स्मरण गराएका छन्।

उनले कुनै पनि लगानी माध्यमलाई पूर्ण रूपमा सुरक्षित वा जोखिमरहित भनेर प्रस्तुत गर्नु उचित नहुने उल्लेख गर्दै लगानीकर्ताले आफ्नो आर्थिक अवस्था, जोखिम वहन क्षमता र जानकारीका आधारमा निर्णय गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्।

भट्टराईले सेवोन अध्यक्षका पछिल्ला अभिव्यक्तिले सर्वसाधारण लगानीकर्ताको हितभन्दा केही लगानी व्यवस्थापन कम्पनी (इन्भेस्टमेन्ट म्यानेजमेन्ट कम्पनी) को हितलाई बढी प्राथमिकता दिइएको हो कि भन्ने प्रश्नसमेत उठाएको बताएका छन्। उनले नियामक निकायले कुनै पनि वर्गका लगानीकर्ताप्रति पूर्वाग्रह देखिने अभिव्यक्ति दिनुभन्दा तथ्य, अनुसन्धान र समान अवसरको सिद्धान्तका आधारमा नीति तथा धारणा सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

वि.सं.२०८३ साउन १८ सोमवार ११:४५ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...