back
CTIZAN AD

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

वि.सं.२०८३ साउन २१ बिहीवार

15 

shares

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्ने उद्देश्यले यातायात संरचनाको गुरुयोजना (मास्टर प्लान) तयार गरिएको छ।

काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गरिएकोे हो । गुरुयोजनाले आगामी वर्षहरूमा उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक, सुरक्षित, प्रभावकारी र वातावरणमैत्री बनाउने लक्ष्य लिएको छ।

उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ ।

जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण यातायात सञ्जाललाई सुदृढ बनाउने संरचनामा विशेष ध्यान दिनुपर्ने बताए ।

“काठमाडौँको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने संरचना निर्माणमा विशेष ध्यान दिनुपर्छ”, उनले भने, “विशेषगरी उत्तर–पूर्वी खण्डबाट पूर्व र पश्चिमलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकको पुनःसंरचनाले भविष्यमा यातायात व्यवस्थापनलाई सहज बनाउन सक्छ ।”

सदस्य थापाले काठमाडौँ उपत्यकाको पूर्व–पश्चिम सम्पर्कलाई थप प्रभावकारी बनाउन नयाँ पूर्वाधार विकास आवश्यक रहेको धारणा राखे । उनले बढ्दो सहरीकरण र सवारी चापलाई मध्यनजर गर्दै दीर्घकालीन सोचका साथ पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए ।

“यो गुरुयोजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुनेछ,” उनले भने ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले गुरुयोजनाले सहरी यातायात सुधारका लागि पूर्वाधार विकास र सार्वजनिक यातायात सुधारका कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकता दिएको जानकारी दिए ।

उनका अनुसार योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा सार्वजनिक यातायात सुधारका १३ वटा कार्यक्रम प्रस्ताव गरिएको छ ।

उनले गुरुयोजनाको पूर्ण कार्यान्वयनबाट सन् २०५० सम्म काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिइएको बताए ।

चक्रपथमा मास ट्रान्जिट प्रणाली, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व–पश्चिम जोडमार्गको विस्तार तथा आवश्यक स्थानमा नयाँ मास ट्रान्जिट विकल्पसमेत योजनामा समेटिएको उनले जानकारी दिए ।

गुरुयोजनाअनुसार सार्वजनिक यातायातलाई व्यवस्थित गर्न द्रुत बस सेवा (बीआरटी), विद्युतीय सार्वजनिक सवारी, बहु(मोडल यातायात प्रणाली, स्मार्ट ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा पैदलयात्री र साइकलमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।

हालको सार्वजनिक यातायात प्रणालीलाई यात्रुमैत्री बनाउन संरचनागत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सहसचिव ढकालले यातायात सञ्चालनलाई कम्पनी मोडलमा रूपान्तरण, रुट व्यवस्थापन तथा संस्थागत सुधारलाई पनि गुरुयोजनाले प्राथमिकतामा राखेको बताए ।

उनका अनुसार विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल, ठमेल, केएमसी दरबार, एलएमसी दरबारमा कार पार्किङ, साइक्लिङ पथ, ट्राफिक सेफ्टी, सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जालको विकास र चक्रपथ सडकबाहिर पार्किङ सुविधाजस्ता विषय गुरुयोजनामा समावेश गरेको छ ।

गुरुयोजनामा महाराजगञ्ज र चाबहिल–गौशाला भूमिगत मार्ग, चाबहिल–बागमती र त्रिपुरेश्वर–माइतीघरमा आकासे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सातदोबाटो–गोदावरी जोड्ने नयाँ कर्मनाशा पुल, चौडा चक्रपथ, थापाथली–त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार कोरिडोरको स्तरोन्नति तथा बौद्धमार्ग सडक चोक सुधार योजनालाई समावेश छ ।

गुरुयोजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकासे सडक र ठूला बसको एकीकृत सञ्चालनमार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखेको छ ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले तीव्र सहरीकरण, बढ्दो सवारीसाधनको चाप र बढ्दो लगानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न दीर्घकालीन र समग्र यातायात योजना अपरिहार्य रहेकोमा जोड दिएको छ ।

पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको उक्त गुरुयोजनाले एकीकृत, दक्ष, सुरक्षित तथा वातावरणमैत्री सहरी यातायात प्रणालीको विकासका लागि दीर्घकालीन रणनीतिक मार्गदर्शन प्रदान गरेको छ ।

योजनाले दिगो सहरी विकासलाई प्रवर्द्धन गर्दै आधुनिक, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ ।

वि.सं.२०८३ साउन २१ बिहीवार १४:४३ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...