काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र सुरक्षाको ग्यारेन्टी माग गर्दै आन्दोलित भएका छन्। उचित ज्याला, दुर्घटना बीमा तथा सामाजिक सुरक्षाको सुनिश्चितता हुनुपर्ने अडान राख्दै राइडरहरूले सडक प्रदर्शन सुरु गरेका हुन् ।
स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ कार्यालय अगाडि धर्ना दिइरहेका राइडरहरूले कम्पनीले चालकमैत्री नीति नअपनाएको र श्रमको उचित मूल्यांकन नगरेको आरोप लगाएका छन् । दैनिक सडकमा जोखिम मोलेर काम गर्नुपर्ने भए पनि प्रभावकारी दुर्घटना र स्वास्थ्य बीमाको व्यवस्था नहुँदा सुरक्षित महसुस गर्न नसकिएको उनीहरूको भनाइ छ ।
यसैगरी लगातार बढ्दै गएको इन्धनको मूल्य, सवारी साधन मर्मत खर्च, कर तथा दैनिक सञ्चालन खर्चका तुलनामा वर्तमान भाडादर ज्यादै न्यून भएकाले जीविकोपार्जनमै धौ–धौ परेको राइडरहरूले बताएका छन् । उनीहरूले वैज्ञानिक आधारमा भाडादर पुनरावलोकन गरी श्रमको न्यायोचित मूल्य कायम गर्न, दुर्घटना परेका चालकका लागि पारदर्शी राहत कोष बनाउन र कम्पनीसँग समन्वयको स्पष्ट वातावरण मिलाउन माग गरेका छन् ।
आन्दोलनकारीहरूले यो विरोध प्रदर्शन कुनै निश्चित व्यक्ति वा सेवाविरुद्ध नभई श्रमिकको सम्मान र सुरक्षित कार्य वातावरणका लागि भएको स्पष्ट पारेका छन् । कम्पनीले आफ्ना मागहरूप्रति चासो नदेखाए अन्य राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध चालकहरूसँग मिलेर आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी उनीहरूले दिएका छन् ।
वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४७ मा प्रकाशित






























