बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको अवस्थामा आइतबार मृत फेला परेका छन्। कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको शव जिल्लाको गोरुसिंगे जंगल क्षेत्रमा फेला परेको हो।
गत शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित आफ्नै निवासबाट निस्किएका सिंहले दिउँसो साढे ३ बजेतिर आफन्त तथा निकट व्यक्तिहरूलाई फोन गरी ‘जङ्गलमा बाटो बिर्सिएँ’ भन्दै जानकारी गराएका थिए। परिवार तथा आफन्त उनको सम्पर्कमा आउन नसकेपछि खोजी सुरु गरिएको थियो।
खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। व्यापक खोजीपछि आइतबार उनको शव फेला परेको हो।
मृत्युको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाको प्रकृति, शव भेटिएको स्थान तथा अन्य प्रमाणका आधारमा प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।
वि.सं.२०८३ साउन २४ आइतवार १३:२१ मा प्रकाशित






























