काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक तनाव तथा गोलीकाण्डबारे छानबिन गर्न गठित समितिहरूले गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका छन्।
दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव० आनन्द काफ्लेले बताए । उनका अनुसार ‘दुईवटा समितिबाट छानबिन प्रतिवेदन आएको छ, त्यसमा भएको निष्कर्ष र सिफारिस अध्ययनको क्रममा छ ।’
गत साउन १० गते कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायका युवाबीच डिजे बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि झडप भएको र सुरक्षाकर्मीको गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो। घटनाको प्रभाव सिरहासम्म पुगेपछि त्यहाँ भएको गोलीकाण्डमा गणेश यादवको समेत मृत्यु भएको थियो।
कप्तानगञ्ज घटनाको छानबिन गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा र सिरहा घटनाको छानबिन सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठित छुट्टाछुट्टै समितिले गरेका थिए।
वि.सं.२०८३ भदौ २ मंगलवार १६:२९ मा प्रकाशित






























