काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।
संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त छलफल र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै देउवा र खड्काले त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन्।
देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च अदालत पुगेका छन्।
कांग्रेसको इतर समूहका प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पुगेको जानकारी दिएका छन्। रिट निवेदनमा कांग्रेसको महाधिवेशनसँग सम्बन्धित हालै सार्वजनिक गरिएको प्रक्रिया तथा कार्यतालिका रोक्न उत्प्रेषणको आदेश माग गरिएको छ।
विवादकै बीच संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
देउवा पक्षले आधिकारिकतासम्बन्धी विवादको अन्तिम टुंगो नलागेसम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढाउन नमिल्ने बताउँदै आइएको छ । यही आधारमा महाधिवेशनको कार्यतालिका रोक्न सर्वोच्चमा निवेदन दिइएको हो।
सर्वोच्च अदालतले यसअघि कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनको आदेश दिएको थियो। त्यसपछि महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा कांग्रेसभित्र दुई धार देखिएको छ। यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गराउने निर्णय गरेको थियो। यता गगन थापा नेतृत्वको पक्षले भने असोजमै महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाएको छ।
अदालतमा रिट निवेदन दिनु अघि आज बिहान देउवा र कांग्रेस नेता डा। शेखर कोइरालाबीच चुनदेवीमा भेटवार्ता भएको थियो।
वि.सं.२०८३ भदौ ५ शुक्रवार १४:३६ मा प्रकाशित






























