back
CTIZAN AD

पुरानो पहिरोको पिरलो

वि.सं.२०८३ भदौ ५ शुक्रवार

shares

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि छुट्छ । सवारीको चाप कम हुँदै जान्छ, धुवाँ–धुलो पातलिन्छ र वरिपरि हरियाली बाक्लिँदै जान्छ । सहरको भीडबाट केही पर पुगेपछि प्रकृतिले आफ्नै ढङ्गले सजाएको शान्त र सुन्दर ठाउँ भेटिन्छ । यस्तै शान्त परिवेशमा छ, गोदावारी नगरपालिका–१० टाहाखेल । यहाँको वातावरण अझै पनि सहरको बढ्दो प्रदूषण र कोलाहलबाट धेरै हदसम्म टाढा छ । खुला आकाश, हरियाली र वरिपरि देखिने प्राकृतिक सौन्दर्यले यहाँ आउने जो कोहीलाई केहीबेर भए पनि सहरको व्यस्तता बिर्साइदिन्छ ।

यही सुन्दर बस्तीमा छ गङ्गा सुनारको घर । वरिपरि फैलिएको हरियाली र शान्त वातावरण उहाँका लागि केवल बसोबास गर्ने ठाउँ मात्रै होइन, जीवनको एउटा अभिन्न हिस्सा बनेको छ । प्रकृतिले निःशुल्क दिएको यही सौन्दर्यसँग उहाँको दैनिकी जोडिएको छ । सहरको भीडभाडभन्दा अलि परको यो ठाउँ बाहिरबाट जति शान्त देखिन्छ, गङ्गा सुनारको जीवन भने त्यति नै सङ्घर्षले भरिएको छ । प्रकृतिको काखमा बसेको उहाँको घरले बाहिरबाट शान्त जीवनको अनुभूति दिन्छ, तर त्यो शान्त सतहमुनि आफ्नै कथा, दुःख, सङ्घर्ष लुकेका छन् ।

मनसुन सुरू भएयताका कयौँ रातहरू अनिदो बितेका छन् उहाँका । अझै मनसुन सकिएको छैन । एकैछिनमा घाम लाग्छ, एकैछिनमा आकाशमा कालो बादल मडारिन्छ । एकैछिनमा झमझम पानी पर्छ । मौसमको कुनै भरै छैन । जब आकाश अँध्यारिएर मेघगर्जनसहित पानीका छिटा खस्न थाल्छ, सुनुवारको अनुहार पनि अँध्यारो हुन थाल्छ । अनि उहाँको ध्यान घरमुनिको पहिरोतर्फ जान्छ । पानी परेपछि पहिरो फेरि खस्ने हो कि भन्ने चिन्ताले रातभरि निद्रा लाग्दैन सुनुवारलाई । तन घरभित्रै भए पनि मन पुरानो पहिरो तिरै जान्छ । जुन पहिरो अझै आलो नै जस्तै देखिन्छ ।

घरमुनिको उक्त पहिरोले उजाडेको उराड मन लिएर त्रासमा बस्नुको कुनै विकल्प नै छैन । “आकाशबाट पानी पर्नासाथ डर लाग्छ,” गङ्गा भन्छिन, “एउटा घर छ, त्यो पनि पहिरोले लग्यो भने हाम्रो त टाउको लुकाउने ठाउँ नै हुँदैन ।” उक्त स्थानमा करिब दुई वर्षअघि गङ्गाको परिवारले नयाँ घर बनाएको थियो । नयाँ घरमा सर्ने तयारी भइरहँदा प्रकृतिले विपत्ति ल्यायो । जिन्दगीभरकोे महेनत घर्चेर बनाइएको नयाँ घरमा सर्ने दिन सम्झेर उनकोे परिवार उत्साहित थियो । घर निर्माण भइसके पनि शुभसाइत कुरेर बस्नुभएको थियो गङ्गाको परिवार । तर नयाँ घरमा सर्न नपाउँदै पहिरोले उहाँहरुको सपनालाई धक्का दियो । खुसी निराशामा परिणत गरायो ।

विसं २०८१ असोज १२ गते सुनुवारको घरमुनि ठूलो पहिरो गयो । “म त पहिरो गयो भन्ने सुन्नेबित्तिकै दौडदै हर्न आए । घर त बचेँछ तर पहिरो हेर्दा कहाली लाग्यो,” उनी भन्छन् “पुरानो पहिरोमा बस्दा जोखिम हुन्छ रे । कुन बेला फेरि पहिरो गएर ज्यानै जाने हो कि डर लाग्छ । छाडौँ भने गएर कहाँ बस्ने ?”

सुनुवारको परिवारमा कमाउने कोही छैनन् । परिवारमा नियमित आम्दानीको स्रोत केही छैन । घरखर्च चलाउन सरकारी भत्तामा निर्भर हुनुपरेको उनी बताउँछन् । छोराको मृत्युपछि बुहारीले पनि घर छाडिन् । अहिले नातिनी छिन् । उनी स्नातक पढ्दै छिन् । “कमाइ केही छैन, के गरी खाने ? त्यही भत्ता अलिअलि दिन्छ, त्यही हो,” उनी भन्छन् । उमेर ढल्किँदै गएको परिवारका लागि नियमित आम्दानीको अभावले जोखिममा रहेको घर छाडेर अन्यत्र सर्न झनै कठिन बनाएको छ ।

पहिरो गएको करिब दुई वर्ष बितिसक्दा पनि जोखिम टरेको छैन । मन ढुक्क हुनै सकेको छैन । पहिरो गएको भागलाई अस्थायी रूपमा प्लास्टिकले छोपिएको थियो । तर अहिले त्यही प्लास्टिक च्यातिएको छ । प्लाष्टिकले पहिरो छोप्दा जमिनमुनि पानी छिन नपाउने र पहिरो जोखिम न्यूनीकरण गर्न सकिने भौगर्भिकविद्ले बताउँदै आएका छन् । “पहिला प्लास्टिकले छोप्याँै, अहिले त्यो पनि च्यातिहाल्यो, झन डर लाग्छ,” गङ्गा भन्छिन् ।

पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा जानकारी गराइएको गङ्गाले बताईन् । आफूहरूले समस्या समाधानका लागि आग्रह गरे पनि काम पूर्ण रूपमा हुन नसकेको उहाँको भनाइ छ । गङ्गाकी बहिनी दुर्गा रिसालको घर पनि त्यही जोखिमयुक्त क्षेत्रमा छ । दुर्गा रिसालका लागि पनि मनसुनी वर्षाले तर्साउँछ । पहिरोले ज्यानै जालाकी भन्ने भय उनीमा पनि छ । त्यही बस्तीमा बस्ने पार्वती सुनारका लागि पनि पुरानो पहिरोले पिरलो थपेको छ । उनलाई पनि वर्षायाम सुरु भएयता नै प्राकृतिक विपद्ले उठिवास गर्छ कि भन्ने चिन्ताले सताउने गरेको छ । आँगनीबाट हेर्दा देखिने कहालीलाग्दो पहिरोले वरपरका बासिन्दालाई मानसिक त्रासदी उत्पन्न गराएको छ ।

पहिरोले प्रभावित परिवारका लागि बस्ती स्थानान्तरणदेखि पहिरोको दिगो व्यवस्थापनजस्ता कार्य प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सरोकारवालाले आवाज उठाउदै आइरहेका छन् । वर्षा सकिएपछि जोखिम केही कम देखिए पनि अर्को वर्ष पानी पर्न थालेपछि पुरानै चिन्ता फर्किन्छ । पहिरो फेरि खस्यो भने के गर्ने ? घरभित्र रहेका सामान कसरी जोगाउने ? परिवारका सदस्य कहाँ जाने ? यस्ता प्रश्नले उक्त स्थानका बासिन्दालाई सताउने गरेको छ ।

विज्ञ भन्छन्ः पुराना पहिरोको जोखिम जहिले पनि रहन्छ

भूगर्भविद् डा सुवोध ढकालले पुरानो पहिरो गएको स्थानमा पुनः पहिरो जाने जोखिम जहिले पनि रहने बताएका छन् । उनले पहिरो गएको स्थानमा माटो खुकुलो हुने तथा वर्षाको पानी जमिनभित्र प्रवेश गर्ने भएकाले भूक्षय बढ्दै जाने र पुनः ठूलो पहिरो जानसक्ने बताए । “भौगर्भिक दरारका कारण पहिरो गएको हो भने त्यसको मूल कारण यथावत् रहन्छ । पहिरो गएपछि जमिन केही समथर देखिने भएकाले त्यस्ता स्थानमा मानिस बसोबास गर्ने र खेतीपाती गर्ने गरेका छन् । त्यहाँ पनि पहिरोको जोखिम रहन्छ,” उनले भने ।

डा ढकालले पहिरोको पानी तथा थप कटान रोक्न तत्कालका लागि प्लास्टिकले छोप्न सकिए पनि त्यो दीर्घकालीन समाधान नभएको बताए । पहिरोको जोखिम न्यूनीकरणका लागि भौगर्भिक अध्ययनसहित दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल भूकम्पीय जोखिममा रहेको मुलुक भएकाले भूकम्पपछि पहिरोको जोखिमसमेत बढ्ने उनले बताए । ढकालले जथाभावी डोजर प्रयोग गरी गरिने विकास निर्माणले समेत पहिरोको जोखिम बढाइरहेको उल्लेख गरे । “भौगर्भिक अध्ययन नगरी घर निर्माण गरेर बसोबास गर्ने प्रवृत्तिका कारण पनि समस्या बढेको छ,” उनले भने ।

ढकालले बस्ती निर्माणसम्बन्धी योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा सुरक्षित स्थान पहिचान गरेर मात्रै बस्ती बसाउनुपर्नेमा जोड दिए । जोखिमयुक्त स्थानमा रहेका बस्तीको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने उनका सुझाव छ । विकास निर्माण गर्दा वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले पहिरोसम्बन्धी पूर्वतयारी र पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने बताए ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित जिल्लाका ५५ स्थानमा पूर्वसूचना तथा पूर्वकार्यका लागि साइरन सञ्चालनमा रहेको जनाएको छ ।

दीर्घकालीन समाधान खोजिने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले पहिरोको उच्च जोखिममा रहेका बस्तीको अध्ययन गरी जोखिम न्यूनीकरण तथा व्यवस्थापनका दीर्घकालीन उपाय अवलम्बन गरिने बताएका छन् । उनले पहिरोको जोखिम रहेका स्थानमा रहेका बस्तीको भौगोलिक तथा जोखिम अवस्थाको अध्ययन गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरणका लागि पहल गरिने जानकारी दिए । “यस विषयमा छलफल भइरहेको छ । आवश्यक पर्ने लगानी वैदेशिक सहायताबाट समेत जुटाएर काम अगाडि बढाउने तयारी गरिरहेका छौँ,” डा उप्रेतीले भने । उनले पहिरो गएको स्थानमा तत्काल राहत तथा उद्धारमा मात्र सीमित नभई जोखिमको मूल कारण पहिचान गरी दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानको छनोट तथा आवश्यक पूर्वाधार निर्माणमार्फत विपद्को जोखिम घटाइने उनको भनाइ छ ।

यसैगरी, कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले बाढी, पहिरोलगायत जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीलाई आधार बनाएर अन्तरराष्ट्रिय जलवायु वित्त पहुँचका लागि पैरवी गरिने बताउनुभएको छ । “जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्दै गएको अवस्थामा प्रभावित समुदायको क्षति तथा नोक्सानी सम्बोधन गर्न अन्तरराष्ट्रिय जलवायु वित्तबाट सहयोग प्राप्त गर्न पहल भइरहेको छ,” उनले भनिन्, “आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको सम्मेलन कोप–३१ मा पनि जलवायुजन्य विपद्का उदाहरणहरू प्रस्तुत गरेर जलवायु न्यायका लागि पैरवी गर्ने तयारी छ ।”

जलवायुजन्य विपद्बाट हुने क्षति तथा नोक्सानीको तथ्याङ्क र प्रमाणलाई व्यवस्थित गरी अन्तरराष्ट्रियस्तरमा प्रस्तुत गर्न सके जलवायु वित्त प्राप्तिका लागि नेपालको दाबी थप बलियो हुने उनकोे भनाइ छ ।

यस्तो छ सरकारको विपद् पूर्वतयारी

प्राधिकरणका अनुसार चालु मनसुन अवधिमा विपद् पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन देशभर ४६० एम्बुलेन्स सञ्चालनमा रहेको छ । प्राधिकरणका उपसचिव रामबहादुर केसीले हाल ५३४ गोदामघर तयारी अवस्थामा रहेको जानकारी दिए । “यसैगरी १२२ स्थानको भौगर्भिक अध्ययन सुरु भएको छ । पहिरो पन्छाउन ८१ वटा डोजर तयारी अवस्था छन् ।

यसैगरी एक हजार २४ वटा हेलिप्याड रहेका छन्,” उनले भने, “यसैगरी नेपाली सेनासँग भएका चार वटा हेलिकोप्टर तैनाथ अवस्थामा छन् । निजी क्षेत्रसँग समन्वय गरी आवश्यक परेको खण्डमा हेलिकोप्टर परिचालन गर्न सकिने गरी ३४ वटा हेलिकोप्टर समेत तयारी अवस्थामा रहेका छन् । काठमाडौँ उपत्यकाभित्र निःशुल्क र बाहिर सहुलियत दरमा हेलिकोप्टरबाट उद्धार गर्ने गरी समझदारी भएको छ ।”

उपसचिव केसीले विपद् पूर्वतयारी र प्रतिकार्यका लागि रु सात अर्ब ५६ करोड २३ लाख ९२ हजार स्रोत व्यवस्थापन भएको जानकारी दिए । प्राधिकरणका अनुसार वैशाखयता ९९८ पहिरोको घटना भएकोमा ४३ जनाको ज्यान गएको छ भने दुई बेपत्ता र २२ जना घाइते भएका छन् ।

वि.सं.२०८३ भदौ ५ शुक्रवार १४:१९ मा प्रकाशित

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...