चन्द्रिका राना, थापा
ढुंगा र माटोको नै किन नहोस्
एउटा बलियो चुकुल लगाउने घर बनाइदेउ बाबा.
हातमा कलम, कपि र किताव थमाएर मात्र
मख्ख नपर बाबा,
ती थमाउन तिमीले गरेको मेहनतको
परिभाषा पनि छोरालाई बुझाइदेउ बाबा,
तिम्रो छोरोलाई पसिना र मेहनतको मूल्य बुझाइदेउ
हातमा महँगो मोबाइल होइन,
हसिया, कोदालो कसरी समाउने सिकाइदेउ बाबा,
घरभित्रै, छिमेकमा, टोलमा, गाउँमा अनि देशकै
छोरी, आमा, बहिनी, दिदी, भाउजु, बुहारीको सम्मान
कसरी गर्ने भनेर सिकादेउ बाबा,
तिम्री बहिनी, तिम्री दिदी खेलौना होइनन्,
सिंगो मानब हुन् भनेर उनीहरुको अस्तित्वको
सम्मान गर्न सिकाइदेउ बाबा,
काम गरेर सानो हुने र शक्ति घट्छ भन्ने
घटिया मानसिकताबाट छोरालाई मुक्त गराइदेउ बाबा,
चोरेर, ठगेर, लुटेर खान हुन्न अनि कलिला चिचिला
छोरीहरुको प्राणपखेरु लुट्नु हुन्न भनेर सिकाइदेउ बाबा,
तिम्रो छोरालाई घरमै नैतिकताको पाठ पढाउ बाबा,
ठूलालाई सम्मान र सानालाई माया गर्न सिकाउ
सानैदेखि गलत र सहिको पाठ, घरमै पढाउ बाबा
मँहगो स्कुलमा महँगो फिस तिरेर पढाएको छु भनेर,
मख्ख नपर बाबा
छोरालाई कस्तो संस्कार सिकाउदैछु भनेर पनि
आफैले गम्भीर मनन गर बाबा
पक्कै पनि,
तिमीले त्यस्तो सुख भोग गर्न पाएनौ,
तर, छोराछोरीलाई किनिदिएको महँगा र,
विदेशी ब्रान्डका कपडा र जुत्ता
कुन मेहनत र संघर्षले आयो भन्ने बुझाउन नर्बिस बाबा,
किन कि, उ पनि भोली बाबा बन्नु छ अनि
आफ्ना छोराछोरीलाई सभ्य नागरिक बनाउन,
उसले पनि धेरै मेहनत र संघर्ष गर्नुछ
यदि तिम्रो पसिना, मेहनत, दुःख र संघर्ष उसले बुझेन भने
आफ्नो जीवनमा लागू गरेन भने
तिम्रो दुःखमा साथ दिएन भने
तिमीले असल बाटो देखाउदा देखाउदै पनि
गलत बाटोमा लाग्यो भने,
हो आमा मासिदेउ त्यस्तो नालायक बीउ
सभ्य समाज बनाउन
आफनो माया र सन्तानको बलि दिन पनि,
पछि नपर आमा
समाजमा संस्कार र नैतिकताको पाठ सिकाउने
महान आमा तिमी बाहेक कोही हुन सक्तैन
त्यसैले कठोर बन आमा
नलायक छोरा हुनुहुन्दा
छोरी, चेलीलाई खेलौना सम्झिएर,
बलात्कारजन्य घटना घटाउनु भन्दा
तिमी बरु निसन्तान बनेर जर्जर भएर बाँचिदेउ आमा
नालायकहरुको देश अनि समाज बन्नबाट देशलाई बचाउ आमा ।।
तिम्रो आत्मालाइ शान्ति मिलोस् गरिमा नानु
हार्दिक श्रद्धान्जलि !
वि.सं.२०८३ भदौ ५ शुक्रवार १३:५९ मा प्रकाशित





























