काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भ्रमण निजी रहेको स्पष्ट पारेको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे प्रश्न गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले उक्त भ्रमण निजी भएको जानकारी दिएका हुन्।
प्रवक्ता अर्यालले भने, ‘सम्माननीयको यो भ्रमण निजी हो। अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ।’
प्रधानमन्त्री शाह शुक्रबार काठमाडौंँबाट सडकमार्ग हुँदै पोखरा पुगेका छन्। पोखराबाट उनी मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे सार्वजनिक जानकारी नदिइकन उनी सडकमार्ग हुँदै पोखरा पुगेपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र अनुमानहरू भइरहेका थिए। विशेषगरी प्रधानमन्त्रीजस्तो उच्च संवैधानिक पदमा रहेको व्यक्तिको भ्रमण निजी हो वा सरकारी भन्ने विषयमा चासो देखिएको थियो।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि प्रधानमन्त्री शाह मुक्तिनाथ भ्रमणका लागि नभई खम्पा गुम्बा दर्शन गर्न निजी भ्रमणमा मुस्ताङ गएको दाबी गरेका थिए।
प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी
वि.सं.२०८३ भदौ ५ शुक्रवार १४:०६ मा प्रकाशित






























