काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको दाबी गरेका छन् ।
प्रधानमन्त्री शाहको पछिल्लो मुस्ताङ भ्रमणलाई लिएर सामाजिक सञ्जालमा भएको चर्चा बारे राप्रपा संसदीय दलका नेता शाहीले भने यो निजी भ्रमण भएको र खम्पा गुम्बा दर्शनका लागि गएको दाबी गरेका हुन् ।
शाहीले प्रधानमन्त्रीको निजी यात्रामा सुरक्षाकर्मीको ठूलो समूह साथमा रहनैपर्ने आवश्यकता नरहेको उल्लेख गरेका छन्।
‘प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो,’ शाहीले भनेका छन्, ‘निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावालस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन।’
उनले प्रधानमन्त्रीलाई पदको जिम्मेवारीबाहेक व्यक्तिगत जीवनका लागि समेत केही समय उपलब्ध हुनुपर्ने धारणा राख्दै हरेक विषयलाई राजनीतिक रंग नदिन आग्रह गरेका छन् ।
‘कम्तीमा एकछिन त उहाँलाई आफ्नै निजी समय र व्यक्तिगत जीवनमा एक्लै हिँड्न दिनुहोस्,’ शाहीले भनेका छन्, ‘हरेक कुरालाई राजनीतिक विषय बनाएर हल्ला गर्न आवश्यक छैन।’
वि.सं.२०८३ भदौ ५ शुक्रवार १३:३७ मा प्रकाशित





























