back
CTIZAN AD

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

वि.सं.२०८३ भदौ ८ सोमवार

15 

shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले पुराना अभिव्यक्ति र भिडियोको तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।

डा। भट्टराईको सचिवालयले सोमबार ‘गम्भीर ध्यानाकर्षण पत्र’ जारी गर्दै राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले बहुसंख्यक हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थालाई प्रयोग गरी भ्रामक भाष्य निर्माण भइरहेको दाबी गरेको हो।

सचिवालयका अनुसार पुराना भिडियो तथा अभिव्यक्तिलाई सन्दर्भबाट अलग गरेर प्रस्तुत गर्ने, भ्रामक तस्बिर तथा पोस्टर तयार पार्ने र सामाजिक सञ्जालमार्फत धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने प्रयास भइरहेको छ।

सचिवालयले धर्मनिरपेक्षता कुनै धर्मको विरोध नभएको स्पष्ट गर्दै राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नुपर्ने धारणा अघि सारेको छ। प्रत्येक नागरिकलाई धर्म मान्ने, आस्था राख्ने वा कुनै धर्म नमान्ने स्वतन्त्रता सुनिश्चित गर्नु धर्मनिरपेक्षताको मूल मर्म भएको पत्रमा उल्लेख छ।

त्यस्तै, विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अपनाउनु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको सचिवालयले जनाएको छ। यस्ता विषयलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको गतिविधिका रूपमा व्याख्या गर्नु अनुचित हुने उसको दाबी छ।

सचिवालयले हिन्दू धर्मभित्रको जातव्यवस्था, जातीय विभेद र सामाजिक असमानताबारे भइरहेको बहसलाई समेत केही हिन्दूवादी समूहले पूर्वाग्रहपूर्ण रूपमा प्रचार गरिरहेको आरोप लगाएको छ।

कुनै पनि धर्म, संस्कृति वा परम्पराभित्र रहेका सामाजिक अभ्यासमाथि प्रश्न उठाउनु तथा सुधारका लागि आलोचनात्मक बहस गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक प्रक्रिया भएको सचिवालयको भनाइ छ।

सामाजिक न्याय र समानताका पक्षमा उठाइने आवाजलाई कुनै धर्म वा धार्मिक समुदायविरुद्धको घृणाका रूपमा प्रस्तुत गर्नु तथ्यको तोडमरोड भएको पनि सचिवालयले जनाएको छ।

सचिवालयले डा. भट्टराईका विचार तथा अभिव्यक्तिलाई समग्र सन्दर्भबाट अलग गरी पुराना सामग्रीको तोडमरोड र भ्रामक व्याख्या भइरहेको दाबी गरेको छ।केही व्यक्तिले धम्कीपूर्ण तथा भय सिर्जना गर्ने सामग्री सामाजिक सञ्जालमा पोस्ट गरिरहेको र योजनाबद्ध रूपमा ‘कन्टेक्स्ट सेटिङ’ तथा भ्रामक भाष्य निर्माण भइरहेको भन्दै सचिवालयले आपत्ति जनाएको छ।

यस्ता गतिविधिले डा. भट्टराईको सुरक्षा र प्रतिष्ठामा मात्र नभई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतामै असर पार्न सक्ने भन्दै सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।

त्यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूह र उनीहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खातामाथि सरकारले गम्भीर निगरानी राख्नुपर्ने तथा आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही अघि बढाउनुपर्ने सचिवालयको माग छ।

अभिव्यक्ति तथा वैचारिक स्वतन्त्रताको सम्मान गर्दै धार्मिक आस्था, व्यक्तिगत सुरक्षा, प्रतिष्ठा र सामाजिक सद्भावमा आघात पुर्‍याउने गतिविधिमा राज्यले प्रभावकारी कानुनी हस्तक्षेप गर्नुपर्ने सचिवालयले जनाएको छ।

धार्मिक स्वतन्त्रता, वैचारिक स्वतन्त्रता, वैज्ञानिक चेतना, सामाजिक न्याय र सहिष्णुताको रक्षा गर्दै घृणा, हिंसा तथा सामाजिक विभाजन फैलाउने प्रयासलाई निरुत्साहित गर्नुपर्नेमा पनि सचिवालयले जोड दिएको छ।

वि.सं.२०८३ भदौ ८ सोमवार १२:२७ मा प्रकाशित

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...