पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो (करिब ७ अर्ब अमेरिकी डलर) लागतमा जापानी मंगा तथा एनिमे शृंखला ‘ड्रागन बल जेड’ मा आधारित मनोरञ्जन पार्क निर्माण गर्ने सहमति गरेका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंको कार्यालय एलिसे प्यालेसले सोमबार साउदी युवराज मोहम्मद बिन सलमानको फ्रान्स भ्रमणका क्रममा उक्त परियोजनाबारे जानकारी दिएको हो।
एलिसे प्यालेसका अनुसार पार्क पेरिसको उत्तरपश्चिममा पर्ने Cergy-Pontoise क्षेत्रमा निर्माण गरिनेछ। परियोजनाबाट करिब २२ हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
यो परियोजनाको अवधारणा सन् २०२५ मा म्याक्रोंले साउदी अरब भ्रमण गरेका बेला जन्मिएको थियो। म्याक्रों र साउदी युवराजबीच ‘ड्रागन बल जेड’प्रति समान रुचि रहेको कुरा त्यतिबेला खुलेपछि परियोजनाको विचार अघि बढेको म्याक्रोंका सल्लाहकारहरूले बताएका छन्।
परियोजनामा साउदीको मनोरञ्जन तथा लगानी समूह किद्दिया (Qiddiya)ले लगानी गर्नेछ। यो परियोजना तेलमा निर्भरता घटाउँदै अर्थतन्त्रलाई विविधीकरण गर्ने तथा मनोरञ्जन उद्योगमा साउदी अरबको विश्वव्यापी उपस्थिति विस्तार गर्ने प्रयासको हिस्सा हो।
युरोपकै सबैभन्दा ठूला थिम पार्क परियोजनामध्ये एक बन्न सक्ने अनुमान गरिएको यस पार्कको निर्माण सुरु हुने वा सञ्चालनमा आउने निश्चित मिति भने तय गरिएको छैन। (reuters)
वि.सं.२०८३ भदौ ९ मंगलवार १२:३५ मा प्रकाशित
























