गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ।
सोमबार बसेको एमाले संसदीय दलको बोर्ड बैठकले प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए।
उनका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भइरहेको छ। नयाँ राजनीतिक परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा एमालेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत अन्य दलसँग संवाद सुरु गर्ने उनले बताए।
अन्य प्रदेशमा एमाले र नेकपाबीच सत्ता सहकार्य सुरु भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि दुई दलबीच सहकार्य गरी नयाँ सरकार निर्माणका लागि पहल अघि बढाइने थापा मगरले बताए।
हाल नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री छन्।
गत वैशाख २ गते भएको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उनीहरू मन्त्रीको जिम्मेवारीमा नियुक्त भएका थिए।
वि.सं.२०८३ भदौ ९ मंगलवार १२:५५ मा प्रकाशित






























