काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकामा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्रता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
जोखिममा परेका नागरिकको सहायताका लागि नेपाली सेनाले हिजो राति नै प्रभावित क्षेत्रमा खाद्यसामग्री, टेन्ट, औषधिलगायत आवश्यक राहत सामग्री पुर्याएको जनाएको हो।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि महत्त्वपूर्ण सहयोग गरिरहेको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गर्नुका साथै सेना तथा निजी क्षेत्रका हेलिकोप्टरमार्फत उद्धार सुरु गरिएको थियो। सेनाको टोलीले रातभर स्थलमार्गबाट समेत उद्धार तथा खोजी कार्य जारी राखेको थियो।
आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी तथा भोटेकोशी नदीको तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरसँगै पैदल टोलीलाई थप सक्रिय बनाइएको छ। फसेका नागरिकको उद्धार तथा बेपत्ताको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
सरकारले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। साथै, विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ।
वि.सं.२०८३ भदौ ११ बिहीवार ०८:५६ मा प्रकाशित






























