काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।
ग्रुपका अनुसार उक्त सहयोग आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उपलब्ध गराइनेछ। ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स, अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसनलगायत कम्पनीबाट सहयोग उपलब्ध हुने जनाइएको छ।
यसैगरी, आइएमई ग्रुपअन्तर्गत कार्यरत कर्मचारीका तर्फबाट समेत एक दिनको तलब बराबरको रकम सहयोग गरिने भएको छ।
विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीबाट नेपालमा रकम पठाउन आइएमईले निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको जनाएको छ। त्यस्तै, खल्ती बाइ आइएमई मोबाइल वालेटमार्फत सरकारको कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।
आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ। बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितका लागि खाद्यान्न तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्न लागिएको हो।
बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आइएमई ग्रुपले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आइएमई ग्रुपले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।
वि.सं.२०८३ भदौ १४ आइतवार १२:३८ मा प्रकाशित






























