काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालनलाई तीव्रता दिएको छ। प्रभावित १२० साइटमध्ये ८० वटा साइटमा मोबाइल सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ।
टेलिकमले हेलिकोप्टरमार्फत कर्मचारी तथा आवश्यक उपकरण परिचालन गरी रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याएको छ। गोसाइँकुण्ड गाउँपालिका–६ मा रहेको उक्त स्टेशन सञ्चालनमा आएपछि आसपासका क्षेत्रमा सञ्चार सेवा सहज भएको कम्पनीले जनाएको छ।
त्यस्तै, बाढीका कारण बन्द भएको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ टावर (बाहुनडाँडा) समेत सञ्चालनमा ल्याइएको छ। उक्त टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५, गोसाइँकुण्ड गाउँपालिका–३ र ५ तथा स्याफ्रुबेँसी–टिमुरे राजमार्गका केही क्षेत्रमा मोबाइल सेवा सुचारु भएको छ।
नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर पनि सञ्चालनमा आएको छ। यसबाट विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा सुचारु भएको टेलिकमले जनाएको छ।
त्यस्तै, विदुर नगरपालिका–८ स्थित तुप्चे टावर तथा गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमाथिको डाँडामा रहेको टेलिकम टावर सञ्चालनका लागि हेलिकोप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी परिचालन गरिएको छ।
नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू भदौ १० गतेदेखि रसुवाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएर प्रभावित क्षेत्रमा सेवा सञ्चालन तथा टावरलाई थप भरपर्दो बनाउने काम गरिरहेका छन्।
विपद्को समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्।
बाँकी प्रभावित साइटमा समेत सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली निरन्तर कार्यक्षेत्रमा खटिरहेको टेलिकमले जनाएको छ।
वि.सं.२०८३ भदौ १४ आइतवार १२:१६ मा प्रकाशित






























