काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा अर्को व्यवस्था नभएसम्म निरन्तर दिने भएको छ।
यसअघि भदौ १४ गतेसम्मका लागि उपलब्ध गराइएको निःशुल्क सेवाको अवधि थप गर्दै राहत तथा उद्धार कार्य सहज बनाउन सुविधा निरन्तरता दिने निर्णय गरिएको टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध हुँदै आएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार उक्त सुविधा प्रयोग गर्न टेलिकमले आग्रह गरेको छ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ।
टेलिकमका अनुसार अधिकांश संरचना सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सुचारु गर्न प्राविधिक कर्मचारीहरू निरन्तर कार्यक्षेत्रमा खटिरहेका छन्।
विपद्को यस समयमा निःशुल्क सञ्चार सुविधाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजनसँग सम्पर्क कायम गर्न तथा उद्धार र राहत कार्यमा समेत सहयोग पुग्ने नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्।
वि.सं.२०८३ भदौ १४ आइतवार १२:४३ मा प्रकाशित






























