काठमाडौं । चीन सरकारले नेपाललाई उद्धार तथा राहत कार्यमा प्रयोग गर्न सहयोगस्वरूप उपलब्ध गराएका चार वटा ठूला ड्रोनको परीक्षण सम्पन्न भएको छ।
उद्धार कार्यका लागि प्राप्त ती ड्रोनमध्ये प्रत्येक ड्रोनले ८५ किलोग्रामसम्म तौल बोक्न सक्ने क्षमता रहेको बताइएको छ। विपद् प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ड्रोन प्रयोग गर्न लागिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले जानकारी दिए ।
परीक्षण सफल भएपछि ती चार वटै ड्रोन आज रसुवा पठाउने तयारी गरिएको छ। रसुवामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा सडक तथा अन्य पहुँच कठिन भएका स्थानमा राहत सामग्री पुर्याउन ड्रोन उपयोगी हुने अपेक्षा गरिएको छ।
ठूला ड्रोनको प्रयोगबाट दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा मानवीय पहुँच विस्तार गर्नुका साथै उद्धार र राहत सामग्री छिटो पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।
विपद्को कठिन परिस्थितिमा सडकमार्फत पुग्न नसकिने स्थानसम्म राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी हुने देखिन्छ ।
उद्धार तथा राहत अभियानमा चीन र नेपाल एकसाथ उभिएका छन्। संकटको यस घडीमा दुई देशबीचको सहकार्यले प्रभावित नागरिकसम्म आवश्यक सहयोग छिटो पुर्याउन महत्वपूर्ण भूमिका खेलिरहेको विश्वास नेपाल स्थित चिनिया दूतावासले लिएको जनाएको छ।
वि.सं.२०८३ भदौ १८ बिहीवार १३:२५ मा प्रकाशित






























